
गएराति रुपन्देहीको तिलोत्तमा–१० मैनहियामा भएको पाँच जनाको सामूहिक हत्याको घटनाका आरोपित झपेन्द्र सिंजालीले मदिरा खुवाएर हत्या गरेको खुलेको छ । ३२ वर्षीय सिंजालिले उक्त हत्या आफूले गरेको बयान प्रहरीलाई दिएका छन् ।
कोदालो प्रहारबाट गंगादेवी पशु फार्ममा कार्यरत स्थानीय माधव मुसहर ४० उनकी श्रीमती जानकी मुसहर ३७ कोषराज मुसहर र बाहिरबाट आएर राति सँगै बसेका स्थानीय किशोर करन चौधरी र आशिष चौधरीको हत्या भएको थियो । सधैँ राति ३ बजे फार्मको काम गर्न उठाउने गरेको र त्यही झोँकमा उनीहरुको हत्या गरेको सिंजालीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सिंजालीले मृतकहरुलाई हत्या गर्ने योजनाअनुसार टन्न रक्सी खुवाएर सुत्न पठाएको बुझिएको छ । मृतक करन र आशिषबाहेक ३ जना गंगादेवी पशु फर्मका कर्मचारी थिए र उनीहरुलाई त्यहाँको सम्पूर्ण कामको रेखदेख गर्ने जिम्मेवारी समेत दिइएको थियाे । अनुसन्धान टोलीले उक्त फर्मका सञ्चालक कृष्ण पुन, मृतकका आफन्तसँग पनि सोधपुछ गरेको छ ।





