
प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन विधेयक माथि विचार गिरयाेस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। संविधान संशोधन प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा सहभागी भएका सबै सांसदले संविधान संशोधनको समर्थन जनाएका थिए। सैद्धान्तिक छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेको संविधान संशोधन विधेयक सर्वसम्मतले स्वीकृत भएको घोषणा गरेका हुन् ।
हुन्न भन्ने आवाज सुनिएन तसर्थ नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु’ , निर्णायार्थ प्रस्तुत गरेपछि सभामुख सापकोटाले संविधान संशोधन प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका हुन् । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेसँगै त्यसअनुसार निसान छापभित्रको नक्सा सच्याउन सरकारले संविधान संशोधन गर्न लागेको हो ।
जेठ १७ गते बसेको विपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका पक्षमा उभिने निर्णय गरेपछि विधेयक प्रतिनिधिसभामा पेस भएको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङफेले जेठ १८ गतेको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरेकी हुन्।






