October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

महानगरले ठाउँको व्यवस्थापन गरिदिएपछि निःशुल्क खाना खुवाउने ठाँउ सारियो

काठमाडौं, काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि सार्वजनिक स्थान तथा खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथली स्थित प्रसूति गृह पछाडि सारिएको छ ।

खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोरोना संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको थियो ।


त्यसपछि भने महानगरपालिकाले बैकल्पिक ठाउँ दिएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि आजदेखि सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिएका छन् ।


नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले बताए । उनले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथलीस्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउन समेत आग्रह गरेका छन् ।


काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको अवस्थामा सार्वजनिक स्थलहरुमा भिडभाड हुनेगरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले असाहय अशक्तलाई भोजन गराउने संघ संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको