December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

स्थानीय तहबाट स्थापित कोभिड अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

  • 9
    Shares

पर्वत, पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन कठिन छ ।

पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचारी व्यवस्थापन हुनसकेको छैनन् ।

नजिकै सुविधा सम्पन्न अस्पताल नभएका स्थानीय तहलाई अस्थायी कोरोना अस्पताल बनाउन सङ्घीय सरकारले बजेट विनियोजन गरेर पठाएको थियो । कुश्मा नगरपालिका बाहेक अन्य ६ स्थानीय तहमा अस्पताल बनाउन केन्द्रको निर्देशन छ ।

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पैयुँ गाउँपालिकाले चिकित्सकसहित नर्स र कार्यालय सहयोगीसहित कोभिड अस्पतालमा उपचार सेवा शुरु गरेको जानकारी दिए । उनले अस्थायी कोरोना अस्पतालमा चार जना सङ्क्रमितको उपचार भइरहेको बताएका छन् ।

महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लुखुका डाक्टर र नर्स करारमा लिएर सेवा सञ्चालन गरेको छ । बिहादी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान भए पनि डाक्टरको दरबन्दीमा दरखास्त पेश गरेका छैनन् । नर्स र कार्यालय सहयोगी मात्रै भर्ना गरिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए । उनले अन्य कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन नभएको जानकारी दिए ।

कोरोना अस्थायी अस्पताल बनाएर सङ्क्रमितको उपचार गर्न भन्दै सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई रु १०-१० लाख बजेट समेत पठाइसकेको छ । फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको