April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

उद्योग व्यवसायलाई निरन्तरता दिन नयाँ निति ल्याइँदै 

काठमाडौं,  उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । कोरोनाबाट धराशायी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत व्याजदरमा ऋण लगानी दिने गरी सरकारले नीति र कार्यविधि पारित गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिएका हुन् ।


चलचित्र विकास बोर्डको स्थलगत निरीक्षण तथा अनुगमनपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “सबै प्रकारका उद्योग तथा व्यवसायलाई निरन्तरता दिन उचित ब्याजदरमा ऋण उपलब्ध गराउन नेपाल सरकार मन्त्रिपरिषद्ले नीति र कार्यविधि पास गरेको छ, यसले कोभिड­१९ बाट धराशायी भएका उद्योग सञ्चालनमा सहज हुने विश्वास छ ।”


उनले लगानी संरक्षण र प्रवद्र्धन गर्ने कुरामा सरकार गम्भीर रहेको जनाउँदै यसका लागि सबैको उत्तिकै भूमिका र जिम्मेवारी रहने बताएका छन् । उनले राज्य व्यवसायीको अभिभावक बनेर संरक्षण र सहजीकरण गर्न तथा अवरोधको गाँठो फुकाउने काममा निरन्तर लागिरहने विश्वास दिलाएका छन् ।

अहिलेको सङ्कटलाई राज्य, नागरिक समाज, उद्यमीलगायत सबै मिलेर समाधान गर्नुपर्नेमा उनले जोड दिए । “हामी सबै संयुक्त रुपमा लाग्यौँ भने समस्या समाधान गर्न सकिन्छ, सबै मिलौँ, आर्थिक सङ्कटलाई सही रुपमा समाधान गरौँ, म यही आह्वान गर्दछु”, मन्त्री गुरुङले भने ।

हिजो र अहिलेको चलचित्रको समीक्षा गरी आवश्यक सुधार गर्न चलचित्र विकास बोर्डलाई उनले निर्देशन पनि दिए । समाज रुपान्तरणका लागि चलचित्रले ठूलो योगदान गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले सुसंस्कृत समाज निर्माणमा चलचित्रकर्मीको अहं भूमिका रहने बताए । उनले कलाकार सिर्जनशील र रचनात्मक भए मात्रै जनताको विश्वस जित्न सक्ने र चलचित्र उद्योगले फड्को मार्ने बताएका छन् ।

अभिभावकले अहिलेका बालबालिकालाई चलचित्र हेरेर समय बर्वाद नगर भन्ने गरेको उदाहरण प्रस्तुत गर्दै मन्त्री गुरुङले केही सिक्नका लागि चलचित्र हेर भन्ने भावना जागृत गराउनेतर्फ लाग्न चलचित्रकर्मीलाई आग्रह गरे । “फिल्म क्षेत्र एउटा विश्वविद्यालय जस्तै हो, यसलाई आकर्षक, विश्वसनीय र अन्तराष्ट्रियस्तरको बनाउनु जरुरी छ, तपाईँहरु अघि बढ्नुहोस्, मन्त्रालय सहयोग गर्न तयार छ ।”

शीर्ष समाचार

धेरै पढिएको