
काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बेला आफ्ना शाखाहरु नखुलाउने भएका छन् ।
वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैंकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो ।
सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताएका छन् । हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
सङ्घले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ र एटिएम सेवाको अधिकतम प्रयोग गर्न आग्रहसमेत गरेको छ ।







