December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

खाद्य बस्तुमा पुनः मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना

  • 2
    Shares

काठमाडौँ, उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक वर्ष कैदसहित जरिवाना गरेको छ ।

गत असोज १५ गते कलङ्की क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा मिति सकिएका उपभोग्य वस्तु बजारबाट सङ्कलन गरी नयाँ मिति राखेर पुनः बजारमा पठाउँदै गर्दा रङ्गेहात पक्राउ परेकालाई कारवाही गरिएको विभागले जनाएको छ ।

पुनः म्याद राख्दै गर्दा पक्राउ परेका दुई कम्पनीका दुई जना सञ्चालकलाई एक वर्ष कैद तथा प्रतिव्यक्ति रु तीन-तीन लाख जरिवना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार असोज महिनामा वाणिज्य विभागका महानिर्देशक नेन्द्रप्रसाद सुवेदीको इजलासमा पेश भएका मुद्दामा आइतबार फैसला गर्दै उक्त निर्णय गरिएको हो ।

आयान डिस्ट्रिब्युटरका सञ्चालक भारत राजस्थानका रोनक बोथ्रा र विष्णुलक्ष्मी डिस्ट्रिब्युटरका सञ्चालक धादिङ गल्छीका शङ्कर बयलकोटीलाई कारवाही गरिएको हो । उनका अनुसार अनुसन्धानका क्रममा भारतीय नागरिक बोथ्राले आफ्नी श्रीमती विष्णु बोथ्रोको नाम पारेर विष्णुलक्ष्मी डिस्ट्रिब्युटर शङ्कर बयलकोटीका नाममा दर्ता गराएको पाइएको थियो ।

‘आफू आयनमा काम गर्ने र श्रीमतीको नाम पारेर कामदार बयलकोटीको नाममा छुट्टै कम्पनी दर्ता गराएर काम गरेको भेटियो, दुबैलाई कैदसहित जरिवाना गरेर कम्पनी खारेज गरियो’, उनले भने । दुई वर्षसम्म विष्णुलक्ष्मी डिस्ट्रिब्युटरका नाममा कम्पनी दर्ता नहुँने निर्णय गर्दै उक्त कम्पनी खारेज गरिएको विभागले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको