December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

नेकपा कुनै पनि हालतमा फुट्दैन, झनै स्पातिलो बन्छ: पर्यटनमन्त्री भट्टराई

  • 13
    Shares

ताप्लेजुङ्, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताएका छन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको बताएका हुन् ।

गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहेका भट्टराईले आइतबार मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्दै शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि उनीहरुक पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।

पार्टी अध्यक्षद्वयसहित नेपालको प्रधानमन्त्री बनिसकेका चारजना नेता नेकपामा रहकाले उनीहरु नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तनमा रहेको भट्टराईले बताए ।

उनले पार्टी कार्यकर्ता तथा समर्थकले राखेका जिज्ञासाको जवाफमा देशकै ठूलो र धेरै नेता भएको पार्टीमा कुनै बेला सामान्य अन्तर्विरोध र मतभेद आउनु स्वाभाविक भएको पनि बताएका छन् । पार्टी एकतालाई थप मजबुत बनाउन शीर्षसहित पार्टीका दोस्रो, तेस्रो र चौथो तहका नेतृत्वसमेत प्रयत्नरत रहेकाले कसैले पनि विचलित हुनुपर्ने अवस्था नरहेको उनले बताए । पार्टी एकताकै विषयलाई लिएर अन्तर्संङ्घर्षहरु चलिरहेकाले यसबाट पार्टी अझ एक ढिक्का र स्पातिलो बनेर जानेमा कार्यकर्ता पङ्तिलाई उनले विश्वास दिलाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको