
काठमाडौं, पार्टीभित्र आन्तरिक विवाद बढिरहेको बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।
दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।
बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने बालुवाटार स्रोतले बताएको छ ।
बिहीबार प्रचण्डले प्रधानमन्त्री ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखे पनि प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए ।






