December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाडौं मागी खानेहरुको सहर भनेर चिनाउने प्रयास नगरियोस

  • 14
    Shares

काठमाडौं, सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाडौं उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आग्रह गरेका छन् ।

खुलामञ्चमा खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन गरेर नै काठमाडौंमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको पनि दावी गरेका छन् ।

शाक्यले भने, ‘काठमाण्डौलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाण्डौ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ ।’

कोरोना महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भएमा आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उनीहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको शाक्यले दावी गरेका छन् ।

देशमा लकडाउन हटिसकेकाले सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिने शाक्यको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको