November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

हेलम्बुलाई पुनः स्याउको गाउँ बनाइने

  • 13
    Shares

सिन्धुपाल्चोक, हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् ।

विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो ।
अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । स्याउ फल्न शुरू गरेको पहिलो वर्षमै ३०० किलोभन्दा बढी स्याउ बजारमा बेचिसकेको स्थानीय रेन्जेन ह्योल्मोले बताएका छन् । हेलम्बु क्षेत्रमा वर्षा भइरहने र बढी चिसो हुने भएका कारण स्याउ मीठो हुने पनि उनले बताए ।

स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती शुरू गरेको पेमाल्हामु शेर्पाको भनाई छ । स्याउ फल्न शुरू गरेकाले अब स्थानीय सरकारले बजार र प्राविधिकको प्रबन्ध गर्नु पर्ने किसानहरूले बताएका छन्।

“गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराको प्रकोपबाट स्याउका बोटलाई जोगाउन समस्या परेको छ”, मेलम्चीघ्याङका कामी लामाले भने, “सरकारले यसतर्फ ध्यान देओस् भन्ने चाहन्छौँ ।” त्यस्तै स्याउ फुल्ने समयमा असिना पर्ने गरेका कारण थप समस्यामा परेको उनले सुनाएका छन् ।

नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमा समेत चर्चा कमाएको हेलम्बुको स्याउ पहिलेजस्तै फेरि लटरम्मै फलाउन र हेलम्बुलाई चिनाउन सबै गाउँमा स्याउका बिरुवा रोपिएको छ ।

हेलम्बु मात्र होइन अहिले यस क्षेत्रका मनोरम गाउँ किउल, बरुवा र बाँसखर्कका हिमाली गाउँमा पनि स्याउ खेती शुरू गरिएको छ । बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ किसानले गाईवस्तुलाई खुवाउने गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको