
चार्टर उडानका नाममा यात्रु ठगिएको गुनासो बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि विदेशमा हुने सबै चार्टर उडानमा रोक लगाउने निर्णय गरेको छ । अत्यावश्यक अवस्थामा कुनै देशका दूतावासले सीधा सम्पर्क गरेमा मात्रै उडान अनुमति दिनेसमेत प्राधिकरणले शनिबार निर्णय गरेको हो । चार्टर उडान भन्दै टिकेटिङ र ट्राभल कम्पनीलगायतले महँगो टिकट काटेर यात्रु लाने गरेको गुनासो आएकाले तत्काल व्यवस्थित नभएसम्मका लागि चार्टर उडान बन्द गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
‘अब भोलिदेखि नै दूतावासले कारण खुलाएर अत्यावश्यक हो भनेर सीधै सम्पर्क नगरेसम्म उडान अनुमति दिँदैनौँ,’ पोखरेलले भने । सरकारले कोभिड–१९ को संक्रमण फैलन नदिन भन्दै गत ११ चैतदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा प्रतिबन्ध लगाएको थियो, जुन आगामी १३ असारसम्म जारी रहनेछ । नेपालबाट बाहिर जानेसँग पनि ट्राभल एजेन्सीमार्फत मनलाग्दी भाडा तोकेर चार्टर गर्ने गरेकोसमेत गुनासो पर्यटन मन्त्रालयमा पुगेको थियो ।
विदेशमा रहेका नेपालीसँग पनि जहाज मिलाउने र टिकट काटेर पठादिने भन्दै अग्रिम पैसा असुल गर्न थालेको गुनासो पर्यटन मन्त्रालयमा आइपुगेको छ । जसका कारण दुवैतर्फका यात्रु ठगिने देखिएपछि प्राधिकरणले व्यवस्थित कार्ययोजना नबनेसम्मका लागि चार्टर उडानको अनुमति नदिइने निर्णय गरेको श्राेतले बताएको छ ।







