
सीसीएमसीले पछिल्लोपटक थपिएको जेठ ३२ सम्मको लकडाउन सकिएपछिका ७० दिनभित्र आंशिक र सम्पूर्णरुपमा लकडाउन खोल्ने गरी स्वरुप तयार पारेको छ । जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तनको खाँचो रहेको सीसीएमसीले निष्कर्ष गरेकाे छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलकाे नेतृत्वमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्ट(सीसीएमसी) ले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत स्वरुप तयार पारेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजानेबारे छलफल भएपछि समितिलाई योजनाबारे सघन छलफल गरेर मन्त्रिपरिषद्मा ल्याउने जिम्मा पनि दिइएको छ । विभिन्न ६ चरणमा ७० दिनमा लकडाउन खोल्ने गरि समितिले तयार पारेको यो योजना अहिले विभिन्न तहमा छलफलमा छ ।
बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले यो प्रस्तावलाई अझै सघन ढंगले अध्ययन गरेर लकडाउनको मोडालिटिबारे निर्णय लिने तय गरेको एक मन्त्रीले बताए । सीसीएमसीले भविष्यमा भारतले आयातमा नियन्त्रण गर्न सक्नेलगायतको मौजुदा अवस्था आकलन गर्दै लकडाउनको स्वरुप परिवर्तनको प्रस्ताव गरेको छ । राष्ट्रिय भण्डारणको वर्तमान अवस्था, आयातमुखी नेपाली अर्थतन्त्र, दैनिकी चलाउन अपर्याप्त राष्ट्रिय उत्पादन, वैदेशिक रोजगारीबाट ठूलो श्रमशक्ति फिर्ता हुने सम्भावना, खाद्य सङ्कट निम्तने यूएनको प्रक्षेपणलाई सीएमसीले लकडाउनको स्वरुप परिवर्तनको आधार मानेको छ ।पोखरेल नेतृत्वको सीसीएमसीको विस्तृत योजना मस्यौदामा संक्रमणको अवस्था हेर्दै दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन सकिने उल्लेख छ । विभिन्नपक्षसँग छलफल गरी सीसीएमसीले यस्तो योजना बनाएको एक सदस्यले बताए । सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजान सकिने सीसीएमसीको प्रस्ताव छ ।
तेस्रो चरणमा कृषि क्षेत्र, दैनिक उपभोग्य सामग्री विक्री–वितरण केन्द्र, निजी सवारी साधन सञ्चालन गर्न सुरु गर्न सकिने प्रस्ताव छ । चौथो चरणमा पुगेपछिमात्रै बैंक तथा वित्तीय संस्था, खेलकुदसँग सम्बन्धित संस्था, अस्पतालसँग सम्बन्धी सेवा, सूचना तथा सञ्चारसँग सम्बन्धित सेवाप्रदायक संस्था, कार्यालयहरू, फेन्सी पसल, ब्यूटिपार्लर, कपाल काट्ने सैलुन आदि खोल्न सकिने सीसीएमसीको प्रस्ताव छ ।
चौथो चरणमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला गर्ने सकिने र यो सफल भएपछि मात्रै पाँचौ चरणमा विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू संचालन गर्न सकिने सीसीएमसीको प्रस्ताव छ । कोभिडको संक्रमणको अवस्था हेरेर पहिला जिल्लागत र त्यसपछि स्थान विशेषलाई ‘प्रभावित’, ‘अतिप्रभावित’ र ‘सामान्य’ वर्गीकरण गर्न सकिने प्रस्ताव छ । र, क्षेत्र छुट्याउँदा कोभिड–१९ को प्रकोप नियन्त्रण गर्न सजिलो हुने अनुमान छ रहेकाे छ ।





