April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

असोजको ३० दिनमा नेपालमा कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या दोब्बर

काठमाडौं, असोजको ३० दिनमा नेपालमा संक्रमित, सक्रिय संक्रमित र मृतकको संख्या दोब्बर भन्दा पनि बढी भयो । उच्च जोखिममा रहेको उपत्यकाको काठमाडौंमा संक्रमण दर अन्यत्र भन्दा अत्यधिक बढ्यो ।

नेपालमा कोभिड १९ भाइरस संक्रमणबाट असोज महिनामा मृतक र संक्रमितको संख्या अहिलेसम्मकै अत्यधिक रह्यो । असोज महिनाको ३० दिनमा मात्र ३ सय ३२ जनाको संक्रमणबाट मृत्यु भएको छ । असोज १ गतेसम्म मृतकको संख्या ३ सय ८३ थियो । तर असोजको एक महिनामै मृतकको संख्या झण्डै दोब्बरले बढेर ७ सय १५ पुगेको छ । असोज एकैदिन अहिलेसम्मकै अत्यधिक संक्रमित र मृतकको संख्या रेकर्ड भएको महिना पनि हो । एकैदिनमा ५ हजार ८ सय संक्रमित र २२ जनाको मृत्यु भएको थियो । पछिल्लो एक महिनामा मृतकको संख्या सरदर दैनिक ११ रहेको छ । जवकी नेपालमा संक्रमणबाट पहिलो मृत्यु भएको जेठ ३ गतेदेखि भदौको अन्त्यसम्मको सरदर मृत्यु दैनिक ३ भन्दा केही मात्र बढी थियो । यसैगरी असोजको पहिलो दिनसम्म करिव ६० हजार रहेको संक्रमितको संख्या एक महिनामै दोब्बर भन्दा पनि बढीले बढेर हिजोसम्म १ लाख २६ हजार नाघ्यो । त्यसैगरी सक्रिय संक्रमितको संख्या पनि एक महिनामा दोब्बर बढीले नै बढेको छ । सक्रिय संक्रमित बढेसँगै अस्पतालहरूमा सघन उपचार कक्ष आर्इसीयू र भेण्टिलेटरको अभावले विरामीले मृत्युवरण गर्नुपर्ने जोखिम पनि बढेको छ । तर यस अवधिमा निको हुनेको संख्या पनि दोब्बर बढी छ । यसले सतर्कता अपनाउदा पनि संक्रमित भैहालेमा कोरोनालाइ सहजै जित्न सकिन्छ भन्ने आत्मविश्वास भने दिएको छ ।

असोजमा संक्रमित र मृतकको ग्राफको टावर अहिलेसम्मकै अग्लो बन्दा काठमाडौं उपत्यका सबैभन्दा बढी प्रभावित भयो । साउनको अन्तिम सातासम्म डवल डिजिटमा मात्र सीमित रहेको उपत्यकाको संक्रमणको अंक भदौमा तीन र असोजमा चार अंकमा पुग्यो । साउनमै उपत्यकामा संक्रमण समुदायमा पुगेको विश्लेषण बिज्ञहरूबाट भइसकेको थियो । तर जिम्मेवार निकाय र नागरिक स्वयंको वेवास्ता अनि लापरवाहीले काठमाडौं उपत्यका शनिबार सक्रिय संक्रमितका हिसावले संसारकै उच्च जोखिमका शहर मध्येको एक बन्न पुगेको छ ।

देशकै घना वस्ती र करिव ४० लाख जनसंख्या रहेको काठमाडौं उपत्यका संक्रमणको उच्च जोखिममा छ । उपत्यकामा मात्र करिव २० हजार ७ सय सक्रिय संक्रमित छन् । यो सम्पूर्ण सक्रिय संक्रमितको करिव ५६ प्रतिशत हो । उपत्यकाको काठमाढौं जिल्लामा मात्र १६ हजार ५ सय बढी सक्रिय संक्रमित छन् भने १ सय ५४ जनाको यही शहरमा मृत्यु भैसकेको छ ।

काठमाडौं महानगरपालिकाको ३२ वटा वडा मध्ये १५ वटामा हालसम्म ५ सय बढी संक्रमित भएका छन् । सवैभन्दा बढी प्रभावित १५ नं वडामा मात्र करिव १३ सय संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ । वडा नं १५ स्वायम्भु क्षेत्रमा पर्दछ । उपत्यकाको अत्याधिक संख्याले नै बागमतिको प्रदेशको ग्राफ पनि सबैभन्दा अग्लो भएको छ । एक महिनामै बागमती प्रदेशमा संक्रमितको संख्या करिव चार दोब्बर बढेको छ ।

नेपालमा अत्यधिक संक्रमितमा युवा समूह छन् । युवा उमेर समूहका छन् । युवा उमेर समूहको जनसंख्या अधिक रहेको युवा देश नेपालमा परिक्षण गराउनेमा पनि युवा समूहकै संख्या बढी रहेकाले पनि अत्याधिक संक्रमितमा २१ देखि ३० र ३१ देखि ४० बर्ष उमेर समूह देखिएको हुन सक्छ । तर यसले युवा बढी सुरक्षित छन् भन्ने विश्वब्यापी बुझाइलाइ गलत सावित गरेको छ । विश्व स्वास्थ्य संगठनले जोखिम कम भएपनि धेरै सक्रिय र कामकाजी भएकाले युवा समूहबाट संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै सचेत समेत गराइसकेको छ ।

संक्रमणको जोखिम उच्च भएकै बेला दशै लगायतका महत्वपूर्ण चाडबाड शुरू भएको छ । यसले आवत जावत र मानिसको चहल पहल स्वभाविकरूपमा बढाँउछ । यस्तोमा उच्च सतर्कता नअपनाउने हो भने जोखिम पनि अझ उच्च हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको