September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

खाली सिलिण्डरको मूल्य तोकियो, आजबाट लागु

काठमाडौं, नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय लागू भएको छ ।

यसअघि सङ्घले ग्यास बिक्रेताले फरक-फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो । तर आजबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिएका छन् ।

उहाँका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए तापनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलिने सङ्घले जनाएको छ ।

सङ्घले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर)मार्फत लिनसमेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिण्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको छ ।