
रौतहट – रौतहटको राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा खटिहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । स्वास्थ्यकर्मीका सवारीसाधन समेत तोडफोड गरिएको छ । क्वारेन्टिनमा बस्ने संकास्पद बिरामीको आरडिटी परीक्षणको नतिजा पोजिटिभ आएपछि उनीहरुले स्वास्थ्यकर्मीउपर आक्रमण गरेका थिए । आक्रमणबाट सहायक नगर स्वास्थ्य संयोजक रामनरेस साह र स्वास्थकर्मी खुर्सिद आलमको टाउकोमा चोट लागेको छ ।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार भइरहेको नगर स्वास्थ्य संयोजक रवीन्द्र कुमार झाले जानकारी दिए । साथै उनीहरुले स्वास्थ्यकर्मी चढ्ने तीन वटा निजी मोटर साइकलमा समेत तोडफोड गरेको संयोजक झाले बताए । घटनाबारे रौतहट प्रहरीले छानबिन गरिरहेको जनाएको छ । ज्ञातव्य छ, केही दिनअघि पनि रौतहटको ईशनाथ नपाका स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गरिएको थियो । कोरोना नियन्त्रणमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरूमाथि यसरी आक्रमण हुनु निन्दनीय रहेको सचेतजनको ठहर छ ।





