September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

चाडपर्व नजिकिँए पनि खसिबोका बिक्री नहुँदा किसान चिन्तित

तनहुँ, अघिल्ला वर्षहरुमा दशैँ आउनु अघि नै भिड लाग्ने दमौली बजार यसपालि कोरोना सङ्क्रमाणको त्रासका कारण चारैतिर सुनसान देखिन्छ । मुख्य चाडपर्व दशैँ नजिकिँए पनि तनहुँ जिल्लाको विगट गाउँबाट सदरमुकाम दमौलीमा खसिबोका ल्याउने क्रम बढेको छ । खसिबोका ल्याउने क्रम बढे पनि बिक्री नहुदा किसान चिन्तित बनेका छन् ।

गत वर्षको दशैंँमा खसीबोका बेचेर राम्रो आम्दानी गरेका सुनारले यसपाली बिक्री नभएको बताएका छन् । “यो समय सबैभन्दा धेरै खसीबोका बिक्री हुने बेला हो”, उनले भने, “बिक्री नहुँदा पशुपालन किसान चिन्तित भएका छन् ।” विगतका वर्षमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्ने गरे पनि यो वर्ष बिक्री नभएर शहर झारियो तैपनि किनबेच शून्य जस्तै रहेको खसीबोका व्यवसायी कृष्णबहादुर रानाभाटले बताए ।

कोरोना भाइरसले गर्दा बजारमा चहलपहलमा कमी आउनुका साथै आम्दानी पनि कम भएकाले खसीबोका बिक्री हुन नसकेको अनुमान किसानको छ ।

ब्यास नगरपालिकाको कार्यालयले खसीबोका बिक्रीस्थलका लागि दमौलीस्थित पुरानो प्रशासन कार्यालयमा व्यवस्था मिलाइदिएको छ । उक्त स्थानमा दैनिक एक दर्जन बढी किसान तथा व्यवसायीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् । गत वर्ष तनहुँमा रु सात लाखको बिक्री गरे पनि यो वर्ष ५० प्रतिशत कममा झर्ने अनुमान गरिएको किसान बताउँछन् ।