September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउन आवश्यक छ: मुख्यमन्त्री पौडेल

मकवानपुर, जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आइतबार हेटौँडामा सम्बोधन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । उनले सङ्घीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुने बताएका हुन् ।

उनले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई त्याग्न र जनतालाई प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार तयार गर्न आग्रह गरे । मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय निकायलले जोडदिनुपर्छ भने । उनले झोलुङ्गे पुल, कृषि सडक, सिँचाइ, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो सीमित स्रोत साधन परिचालन गर्ने उल्लेख गरे ।

सो अवसरमा प्रदेशसभाका सदस्यद्वय प्रेमबहादुर पुलामी र सन्तबहादुर प्रजाले विपन्न जनताको आयआर्जन हुने कार्यक्रम बनाउन जोड दिएका छन् । उनीहरुले पूर्वाधारका योजनालाई निश्चित समयमा सम्पन्न गर्नेतर्फ स्थानीय जनप्रतिनिधिको भूमिक सशक्त हुनुपर्ने बताएका छन् ।

सो अवसरमा कोरोना जोखिम हुन नदिन उल्लेखनीय योगदान वापत विभिन्न सङ्घसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रशंसापत्र पाउनेमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका स्वास्थ्य निरीक्षक भोला चौँलागाई, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठ, स्थानीय समाजसेवी नारायण थिङ, उद्यमी ऋषिराम घिमिरे, यातायात व्यवसायी बद्रीप्रसाद चौलागाईँ र श्री कृष्ण प्रणामी सेवा समितिको तर्फबाट केदार चौलागार्इँलगायत थिए । समीक्षा बैठकमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहित आठ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको