September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

दानामा भएको चर्को मूल्य वृद्धिका कारण अण्डा उत्पादनमा ४० % गिरावट

रत्नननगर, दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । चर्को मूल्य वृद्धिले किसान अण्डा विक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक संघले बताएको छ ।

संघका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ । यो कुल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन बढ्दै आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको संघले बताएको छ ।

देशको कुल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करीब चार प्रतिशत रहेको छ । तीमध्ये अण्डाको मात्र करीब एक प्रतिशत योगदान रहेको छ । ‘बन्दाबन्दी अगाडि दानामा भएको चर्को मूल्यवृद्धिका कारण करीब ५० प्रतिशत किसान यो व्यवसाय छाडेका छन्’, संघका उपाध्यक्ष किरणभूषण ओलीले भने, ‘बैँकबाट कर्जा लिएर निर्माण गरिएका अधिकांश पोल्ट्री संरचनामा अहिले ताला लागेका छन् ।’

दानामा भएको चर्को मूल्यवृद्धिका कारण सबैभन्दा बढी अण्डा उत्पादक साना किसान प्रभावित भएका छन् । ५ हजारभन्दा कम कुखुरा पाल्ने किसानलाई साना किसान भनिन्छ । नेपालमा एकै व्यक्तिले ३ लाखसम्म कुखुरा पाल्ने गरेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले अण्डा विक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसक्दा अधिकांश साना किसान यो व्यवसायबाट विस्थापित हुँदै गइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको