
जेठ २० बाट लकडाउनको अर्को चरण शुरु भएको छ सरकारले ३२ जेठसम्म लकडाउनको निर्णय लिइसकेपनि खुकुलो बनाउँदै लैजाने नीति सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गदैै सरकारले अब कोरोना भाइरससँग संघर्ष गर्दै आर्थिक तथा सामाजिक गतिविधि पनि बढाउँदै लैजाने बताइसकेका छन् । उनले केही उद्दोग संचालन र निर्माणहरु भइरहेको उदाहरण दिदै कोरोना रोकथामको उपायसहित निर्माण र उत्पादनको क्षेत्रलाई गति दिइने बताइसकेका छन् ।
यसलाई अब लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारको नीति मानिएको छ । लकडाउन क्रमशः खुकुलो बनाउँदै लगिएको आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । उनले ऋषि धमलासँग भने, ‘लकाउन क्रमशः खुकुलो भइरहेको छ ।’ सरकारले लकडाउन खुकुलो पारेको कुनै घोषणा नगरेपनि सरकारी निकायमा खुकुलो पार्दै लाने गरी व्यवहारहरु हुन थालेका छ । अत्यावश्यक काममा निस्किएकाहरुलाई सुरक्षाकर्मीले अवरोध गरेका छैनन् । काठमाडौं उपत्यकामा छिर्ने नाकाहरुमा भने कडाई गरिएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान अझै कडाई छ । तर, आन्तरिक रुपमा काममा आवतजावत गर्नेहरुलाई व्यवहारिक रुपमा छुट दिइएको छ । सरकारले परिस्थिति हेरेर लकडाउन खुकुलो पार्ने गरी मापदण्ड बनाउँदैछ । मन्त्री भट्टले भने, ‘अहिले हाम तयारी गर्दैछौं, व्यवहारिक खालको मोडल तयार हुँदैछ ।’ उनले यातायात क्षेत्र कुन कुन र कहाँ कहाँ चलाउन दिने अध्ययन भइरहेको खुलाए । संक्रमण बढी भएको ठाउँ सिल गर्ने र नभएको ठाउँमा सञ्चालन गर्न दिने गरी तयारी भइरहेको बुझिएको छ ।
महानगरी प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले लकडाउनमा सरकारले सहजीकरण गरेको बताए । अब लकडाउनको पालना गर्दै आफ्नो सुरक्षा आफैले गर्ने बताए । उनले ऋषि धमलासँग भने, ‘अब लकडाउनको सहजीकरणतर्फ उन्मुख हुन्छौं ।’ समय र परिस्थिति अनुसार सवारी सञ्चालन केही सहज भएको बताए । उनले भने, ‘पहिलाको जस्तो पुर्ण रुपमा सवारीलाई निषेध गरिएको छैन ।’
लकडाउनको स्वरुपमा परिवर्तन भएको उनको भनाई छ । कोभिड -१९ रोकथामसम्बन्धी सरकारी संयन्त्रका सदस्य समेत रहेका आपुर्तीमन्त्री लेखराज भट्टले अब परिस्थिति अध्ययन गरेर लकडाउनको मोडल परिवर्तन गर्ने र आर्थिक गतिविधिलाई सहज रुपमा अगाडि बढाउने हो । विस्तारै जनजीवन सहज बनाउँदै लैजाने समेत बताए । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाउने क्रम भएकाले बीचैमा पनि कार्यान्वयनमा आउनसक्ने बुझिएको छ । नयाँ मोडालिटी अनुसार अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । यसका लागि कोरोनाको जोखिमको अवस्था हेरेर मापदण्ड तोकेर गर्ने बुझिएको छ ।







