
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवीबिच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा बढ्दो कोरोनाको संक्रमणका बीच अवस्थालाई सहजीकरण गर्न सेना परिचालनको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री निकट स्रोतले सेना परिचालनको सन्दर्भमा भेटवार्ता भएको जनाएको छ । यसविषयमा केही दिनअघिको क्याबिनेट बैठकमै छलफल भएको थियो । संविधानको धारा २६७ को उपधारा (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनसक्ने उल्लेख छ।





