April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही’

  • 7
    Shares

काभ्रेपलाञ्चोक, चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही गरिने भएको छ । दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही’ को सन्देशसमेत दिइरहेको छ ।

कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने जनाइएको हो । कार्यविधिको गाउँपालिकाका विभिन्न स्थानमा लगातार एक हप्ता चेतनामूलक कार्यक्रम गरिने अध्यक्ष दिननाथ गौतमले बताएका छन् । “कार्यविधिको प्रचारप्रसारसँगै जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही हुने सन्देश दिइरहेका छौँ”, उनले भने । उनका अनुसार कार्यविधिमा जनप्रतिनिधिलाई दोब्बर कारवाहीबारे उल्लेख नगरे पनि सेवन गरेको भेटिए कार्यविधिमा तोकिएको जरिवाना÷सजाय दोब्बर गरिनेछ ।

गाउँपालिकाले कार्यविधि प्रचारप्रसारको काम शनिबारदेखि थालेको हो । गौतमले भने, “आउँदो शुक्रबारसम्म कार्यविधिको प्रचारमा हुन्छौँ, सबै कार्यक्रममा जनप्रतिनिधि सामेल गराइएको छ ।” आव २०७७÷७८ को नीति तथा कार्यक्रममा व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो । कार्यविधिमा गाउँपालिकाभित्र मदिरा बिक्री–वितरण गर्ने र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कारवाही गरिने उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको