April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

ठेकेदारको हालीमुहाली, ठेक्का लिने तर काम नगर्ने

  • 10
    Shares

मनाङ, मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष पुगेको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरूपमा पाएको योजना अहिलेसम्म अलपत्र छ । मनाङको पुरानो सदरमुकाम थोँचेबाट पल्लोगाउँ तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल विसं २०७३ असारमा ठेक्का लगाइएको थियो ।

विसं २०७४ साउन २३ मा सक्नुपर्ने शुरुको सम्झौता भए पनि हालसम्म तीनपटकसम्म म्याद थप भयो तर कामको प्रगति छैन । भ्याटबाहेक रु तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब रु एक करोड ३२ लाख निकासा गरिसकेका छन् । पूर्वाधार कार्यालय मनाङका अनुसार हालसम्म दूधखोला पुलको काम ४० प्रतिशत सकिएको छ । “फिल्डमा त्यति काम देखिँदैन ।

दुईतिर पर्खाल उठाएर मात्रै छाडिएको छ । पुल बन्ला भनेर वारिपारि सडक खनिसक्यौँ । वर्षौँ बितिसक्दा पुल बनेन”, नासो गाउँपालिका अध्यक्ष चन्द्र घले भन्नुहुन्छ, “ठेकेदारलाई कारवाही गर्नुको सट्टा म्याद थपेर झन् समस्या भयो ।” यो पुल नबन्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई हिँड्न समस्या भएको छ भने चर्को ढुवानी तिरेर सामान ओसार्न बाध्य छन् स्थानीयवासी ।

मस्र्याङदी नदीमाथि हुम्डेमा पुल बनाउनका लागि जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को बोलपत्र निकाल्यो । श्री गाल्वा र क्याराभान कम्पनीले नै यसको ठेक्का पायो । भ्याटसहित रु चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल विसं २०७४ माघमा सक्नुपर्ने हो । समयमा काम नसकिएपछि २०७७ असारसम्म सक्ने गरी म्याद थपिएको थियो । पछिल्लो म्यादसम्म ४० प्रतिशतभन्दा काम हुन सकेन । तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छवटा पुलको ठेक्का दिइएको थियो । यी दुईवटा मात्रै होइन, मनाङका छवटै पुल निर्माणको जिम्मा क्याराभानले लिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको