कक्षा १२ को परिक्षाको विकल्पसहित प्रस्ताव मन्त्रीपरिषदमा

काठमाडौँ, कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै गत बैशाखमा कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कोरोना सङ्क्रमण फैलिरहेको समयमा परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०÷५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो ।
उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन् । तत्काल निर्णय नभएका दशैँ अघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ । दशैँपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ । यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजितालाई ५०÷५० प्रतिशत मानेर प्रमाणीकरण गराउने विकल्प बलियो हुनसक्ने जनाइएको छ ।
चालीस नम्बरका लागि अनलाइनमा परीक्षा गराउँदा खुला पुस्तक परीक्षा (ओपन बुक एक्जाम) हुने भएकाले यसको विश्वसनीयता र सबै स्थानमा अनलाइनको पहुँचको सम्भाव्यताबारे प्रश्न उत्पन्न भएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा बोर्ड परीक्षा भएको र यसको अन्तरराष्ट्रिय समकक्षतासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरुपमा परीक्षा गराउने पक्षमा आफूहरु रहेको केही दिनअघि बताएका थिए।
प्रतिकृया दिनुहोस्