March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

साढे ७ केजि अफिम सहित कपिलवस्तुमा १ महिला र १ पुरुष पक्राउ

कपिलवस्तु, कपिलवस्तु प्रहरीले साढे ७ केजी अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सरप्राईज चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १० बजे कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाईन्टबाट सो परिमाणको अफिम बरामद गरेको हो ।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगर तर्फ आएको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ बर्षकी सिता रोकालाई शंका लागी चेक जाँच गर्दा निजले बोकेर ल्याएको झोलाबाट साढे ७ किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

चालकको सिट पछाडी अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २ केजी र पछाडी राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी गरि सो परिमाणको अफिम भेटिएको हो । रोका सगै प्रहरीले अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० बर्षिय शुसिल क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको उपरिक्षक अधिकारीले स्पष्ट पारे । प्रहरीले बरामद गरेको अफिम भारत पुर्याए पछिको अन्तरराष्ट्रिय बजार मुल्य १ करोड बढि पर्ने बताईन्छ । कपिलवस्तु प्रहरीले लागु औषध ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा लागु औषध बरामद हुने क्रम बढेको छ ।

यस अघि अशोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा ३७ केजी चरेस सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीको टोलीले शंका लागी निगरानी गर्दै गर्दा कृष्णनगरको भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० बर्षिय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ बर्षिय बसन्ती घर्तिलाई प्रहरीले चरेस सहित नियन्त्रणमा आएका थिए । नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले गुडाउने लगेज र ग्यास सिलिण्डरमा चेकजाँच गर्दा तल पिधमा प्वाल पारी लुकाएको सो परिमाणको चरेस बरामद गरेको थियो ।