April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

युवाहरु नवीन चेतना र विचारका सम्वाहक एवं परिवर्तनका अग्रगामी दस्ता हुन्: ख्यमन्त्री पौडेल

वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा देशका आधारस्तम्भ भएको बताएका छन् । युवा परिषद्द्वारा आयोजित दोस्रो प्रदेश युवा सम्मेलनमा मुख्यमन्त्री पौडेलले युवाहरु नवीन चेतना र विचारका सम्वाहक एवं परिवर्तनका अग्रगामी दस्ता भएको उल्लेख गरेका हुन् ।


भिडियो सम्बोधनमार्फत उनले नेपालको राजनीतिक परिवर्तनमा युवाहरुले निर्वाह गरेको भूमिका आफैँमा अद्वितीय रहेको भन्दै युवाहरुको सङ्घर्ष, त्याग र बलिदानकै जगमा लामो समयदेखि विद्यमान राजनीतिक सङ्क्रमणकाल अन्त्य भई राष्ट्र समृद्धिको युगमा प्रवेश गरेको बताए । विगतमा राजनीतिक मुद्दाको उल्झनमा विकास र सम्बृद्धिको मुद्धा पछाडि परेको यथार्थ सबैमाझ छर्लङ्ग रहेको उनको भनाइ थियो ।


उनले संविधानका उपलब्धिलाई संस्थागत गर्दै जनतालाई परिवर्तनको अनुभूति गराउन हिजोका प्रवृत्ति र कायशैलीबाट उठेर नयाँ शिराबाट अघि बढ्नुको विकल्प नरहेको धरणा राखे । मुख्यमन्त्री पौडेलले सरकारले अँगाल्ने नीति तथा तय गरेका कार्यक्रमहरुले त्यसको झल्को दिन सक्नुपर्ने भन्दै प्रदेश सरकारका नीति तथा कार्यक्रम यसै दिशामा केन्द्रीत रहेको बताएका छन् ।


कोरोना महामारीका कारण हजारौं युवाहरु रोजगारीबाट विमुख भएको उल्लेख गर्दै उनले भने, “विदेशमा श्रम गर्न गएका युवाहरु फर्किनु परेकाले आश्रित परिवारमा जीविकाको चिन्ता र भय थपिएको छ । विदेशबाट फर्र्किएका युवालाई श्रम र उत्पादनमा जोड्दै तथा स्वदेशमै कर्म गरिरहेका युवालाई राहत तथा प्रोत्साहनका प्याकेजहरुमार्फत युवा पलायनलाई रोक्ने गरी योजना, कार्यक्रम ल्याउने छौँ ।”

शीर्ष समाचार

धेरै पढिएको