May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

बानी सुधार्न विज्ञापन – मदनकृष्ण सिलवाल

लघुकथा
सबैलाई नानी वय नै मन पर्छ, मलाई पनि त्यही वय नै बढ्ता मन पर्छ । मेरा पनि नानी वयदेखिकै कतिपय बानीहरू छन्, जसलाई परिवर्तन गर्ने नै मलाई इच्छा छैन । र, त ममा त्यहीँ कमजोरी छ । तर पनि म आफ्नो बानी सुधार्नेभन्दा पनि अरुलाई अर्तिउपदेश बढ्दा दिँदै हिँड्ने गर्दछु ।

अरुले मेरा अगाडि वाह ! वाह !! र हाई हाई गरेता पनि एकपाइलो अगाडि–पछाडि कुरा काट्दै हिँडेका हुन्छन् । अनि मेरो समाजसेवा र मेरो दम्भ र घमण्डी बानीले घरपरिवार र समाज पनि बिखण्डन बन्दै गइरहेको मलाई आभाषसम्म पनि हुन सकेन यत्तिका दिनसम्म । अरुलाई के–केमा मज्जा छ, सायद सबैका ज्ञान छ मलाई । तर मेरो अन्तरवस्तु आफ्नै मनलाई सोध्दछु, सधैँ बेचैन, ऐँठन र नैराश्यताको विशाल छायाँले धेरिरहेको छ तर पनि त्यसको एकरत्ति पनि चासो र जिज्ञाशा मभित्र कहिल्यै जागृत भएन ।

बानी सुधार्न र बानी बिगार्न उत्तिकै समय लाग्दोरहेछ । थाहा हुँदा–हुँदै पनि बानी सुधार्नेतर्फ कदापि मन गएन, जान सकेन पनि । क्षणिकमा रमाउने र बोतल समाउने ममा लत्त छ । खुसीमा समाएँ, हल्का दुःखमा त्यसैसँग रमाएँ । अचेत त दिनरात रमाउने असल मित्र बनिरहेको छ त्यही । अरुलाई अरु नै धन्दा मलाई त्यसैमा आनन्द आनन्द परम आनन्द ! जबसम्म हृदयमा पीडा हुन्छ, मनमा दर्द र दिलचस्वी हुन्छ, मेरा लागि त्यहीँ मात्र बोतल अब सदासदाका लागि असल मित्र बन्छ । मान्छेहरूले पनि जानेर वा अञ्जानमा ऊ कुलतमा पस्यो, नराम्रो बानी व्यवहार बनायो भनेर मनग्यै कुरा काट्ने गर्दछन् ।

के मभित्र एउटा लत जागृत हुनु खराब हो र मैले जीवन जिउने कलाभित्र रम्न खोज्नु, चाहनु कसैका लागि बोझ हो र ! मैले पनि त अरुले जस्तै सपना देखेको हुँला सपना कति त निद्रामै विस्मृत भए होलान् । जुन शाश्वत सपना जसले जीवनको मार्गलाई गतिशील बनाउन हरेक पलहरू रंगीन बनाउने जीजिविषा साँच्दासाँच्दा जीवन बाँच्दा–बाँच्दै किन रगतको होलीमा रणसङ्ग्राममा होमिन विवश छन् मेरा सुक्ष्म जीजिविषाहरू हँ…।
खबरदार ! अब त अति भो ! मैले मेरो बानीलाई सुधार्नु पर्छ । मैले असल संसार रच्नुपर्छ भन्ने चेत मेरो मनभित्र हुँदाहुँदै पनि फेरि म बोतलको साहारा लिन पुग्छ । अब कसैले मलाई छेक्ने छैन मात्र बोतल बोतलले नै मेरो आनीबानी सबै सुधार्नेछ । एक चुस्कीसँग जोडिएको सम्बन्ध, एक प्यागसँग जोडिएको आत्मीयता गिलासभित्र छरिएको अनेकन भ्रम, त्रासदी र झङ्कारहरू । चुरोटको सर्कोसँगै उडेको धुँवा र बतासिएका अनेकन भुवादार स्मृति र विस्मृतिहरू….!
सेतो कागजमा सुन्दर अक्षर र त्यसैभित्र विलिन हुने मेरा सपना मेरै बानीले सखाप पारिदिएको छ । भर्खरै मात्र मैले बानी सुधार्नको लागि विज्ञापन गर्ने सोच बनाएको छु । राष्ट्रियस्तरको दैनिक अखबारहरूमा बानी सुधार्नका लागि विज्ञापन दिएपछि पक्कै पनि त्यति दैनिन्दीय त्यही हेरेर भएपनि मेरो बानी सुर्धिएला कि !
बानी सुधार्ने कठोर निर्णय लिएसँगै अचेल मनग्यै बोतलहरू रित्तिएका छन्, आफू आफैँभित्र परिवर्तन हुने आशहरूमा सारा जीविविषाहरू थलिएर बसेका छन् । तर पनि बानी सुधार्नको लागि राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकामा विज्ञापन गर्ने सोचाइमै छु ।