
आँखै अगाडि छरपस्ट छन् जालझेलको बिस्कुन
देखेर पनि नदेखे झै गर्छ मौनता र अस्थायी तन
अन्धकारमा साथ सधैं जुनेली रातको मात्र हुन्छ
त्यसैगरी मेरा सिथिल घर मर्मत गर्न मद्दत गर्छौ त तिमि !
कलकलाउदो बालीनाली झै सप्रीएका छन् कुदृष्टिको भाव । बेलुकीपखको घाम झै अस्ताउदै छन् आशाका किरण । झुटको प्रचारमा गुमनाम यथार्थ बामे सर्दै सत्यताको नजिक छ कदम । सबैमा निस्वार्थ प्रेम पस्कदै सत्यतामै निडर हुन सक्छौ त तिमी !
व्यस्त दुनियाँमाझ व्यस्त हुन सिकेकी चरी
आवश्यकता अनुसार पखेटा पडफडाउन सिक्दै छे
दाना दिएर पासो लागाउने शिकारीको कमि छैन त्यहाँ
पेट भरेर पासो लत्याउदै उड्ने कोसिसमै छु यहाँ । त्यसलाई प्रेरणाले शितलता दिन सक्छौ र तिमि !
परिस्थितिलाई हरेक दिन गवाही दिदा रित्तिसके मेरा हर शब्दका अर्थहरु । सम्झेर बुझेर त्यसलाई पहिचान दिने आट गर्छौ र तिमि । अभावमै विलाउन खोज्दै छन् मनका आकाङ्क्षाहरु । यसैलाई समेटेर दरिलो खुड्किलो बनाउने प्रयास गर्छौ र तिमि !
संघर्षको मैदानमा यसै थाकिसके साहस बन्ने प्रयास गर्छौ र तिमि । प्रत्येक सेकेन्डले मृत्युको मखतिर धकेल्दै छ । आफ्नै अस्तित्वको खोजीमा आफैं अपरिचित बनिसके । छोटो समयमै नजिकिने प्रयास गर्छु साथ दिन सक्छौ र तिमि !
सपनाक कुन्डलहरु बिथोलिदैछन भावनाका लहरहरुमा । उमेरसँगै बदलिएको रौनकता निराशतामा ढल्ने हो कि डर छ । सबै डर हटाएर उमंग ल्याउने चुनौती दिन्छु । चुनौतीलाई अवसरमा सारी जिवनको सारथी बन्न सक्छौ र तिमि !
मेरा हर कदममा विवशता र बाध्यताको गन्ध पाउँछौ
यी सबै कुरा लत्याएर अपनाउन सक्छौ र तिमि !
रंगीचंगी सहरमा बसेका छौ । गन्धे हिलोमा लतपतिएको कमल चिन्छौ र ! यसलाई सजाएर राख्ने हिम्मत गर्छौ र तिमि !







