
काठमाडौं, नेपाली साहित्यमा नव-उदयमान लेखक उत्तम निरौलाको दोस्रो कृति उपन्यास सखिला जसलाई हिमशिखर बुक्सले प्रकाशन गरेको छ ।
शनिवार राजधानीको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित एक कार्यक्रमकाबीच नेपाली समाजकी वरिष्ठ साहित्यकार पद्मावती सिंहको बाहुलीबाट विमोचन गरिएको हो ।
सखिला तथा दृष्टिकोण परिवारले आयोजना उक्त कार्यक्रममा पद्मावती सिंह लगायत अन्य वरिष्ठ साहित्यकार श्री ओम् श्रेष्ठ, शंकर भारती तथा विदुषी वृन्दा देवि निरौला लगायतको उपस्थिति रहेको थियो ।
उपन्यास सखिलालाई सम्पादन गरेका प्राध्यापक डा. प्रकाश तिवारीले सोबारे प्रकाश पार्दै उपन्यासले सत्य कथामा आधारित रहेर नेपाली छोरीको प्रतिनिधित्व गरेको उनको भनाइ छ ।
उपन्यासले केवल प्रमुख पात्र सखिलाको आत्मवृतान्त मात्रै नभई नेपाली समाजमा हरेक छोरीले भोग्नुपर्ने समस्यालाई समाधानको बाटो निकालिदिएको डा. तिवारीले बताए । हरेक छोरीलाई प्रेरणा प्रदान गर्ने उपन्यास भएको उनको दावी छ ।
वरिस्ठ साहित्यकार पद्मावती सिंहले पनि उपन्यासबारे खुसी हुँदै भनिन्, “एउटी नारीको बारेमा यसरी स्रष्टाले कलम चलाउनु भनेको नेपाली नारीहरूकै निम्ति गौरवको विषय हो । अनेक उत्पीडनमा विभिन्न समस्या झेलिरहेका नेपाली नारीहरूप्रति सखिलाले पक्कै पनि न्याय गरेको छ ।” उनले लेखकलाई शुभकामना दिंदै आफ्नो कलम निरन्तर रूपमा अघि बडाउन प्रेरणा दिइन ।
यसैगरी कार्यक्रममा बोल्दै गोरखापत्रका पूर्व प्रधान सम्पादक तथा वरिष्ठ साहित्यकार श्रीओम् श्रेष्ठले भने, ” यस कार्यक्रममा सहभागी हुनपाउनु त्यो अदृश्य शक्तिकै खेल हो जुन शक्ति मार्फत लेखकले कलम चलाउन उर्जा मिल्यो ।” उनले थपे, “फेसबुकमा भेटेकी बहिनीको नाममा यसरी एउटा कृति नेपाली साहित्यलाई पस्किनु भनेको धेरै उत्कृष्ट काम भनेर लिन सकिन्छ । भाग्यमानी रहिछन् सखिला जसले शरीर छोडेर पनि फेरि जन्मने अवसर पाइन् ।”
लेखकको हौसला बढाउँदै नेपाली उपन्यास समाजका अध्यक्ष शंकर भारतीले अकल्पनीय कथालाई तटस्थ रूप दिएर नेपाली साहित्यका लागि लगायत सखिलाको परिवारलाई निरौलाजीले धेरै ठूलो काम गरेको उल्लेख गरे ।






