October 15, 2021, Friday
२०७८ आश्विन ३०, शनिबार

सुन्छौ भने भन्छु तिमिलाई..

मेरो पनि आफ्नै बेदना छ ।
हृदयभरी बिर्सन नसकिने घटनाका प्रतिबिम्ब छ ।
जति बिर्सन खोजे उति नै तड्पाउने भित्री व्यथा छ ।
मनलाई शान्त पार्न खोजे झनै तर्साउने
भविस्य भएको मेरो कथा छ सुन्छै भने भन्छु तिमिलाई आउ बस छेउमा ।।

नियतिको अम्ल वर्षाले छियाछिया पारेको
कमजोर हृदय छ । सानो कुरामै भावुक हुने कोमल दिल छ । आफन्तले दिएको महँगो आशु र बैगुन छ । वर्षैादेखि नफुकाएको साँचो प्रेमको गाठो छ । मेरो पनि कथा छ सुन्छौ भने भन्छु तिमिलाई आउ बस छेउमा ।।

पुतली जस्तै उडने चाहाना तर बाध्यताको डोरिले बाधिएका मेरा ती कलिला पाइला । कोसौंमाथिको आकाश छुने चाहाना तर आफन्तैको तिरस्कारले  अडकाइदिएको स्वतन्त्रताको रिवन । आफन्त अनि नजिककाले टुक्रा टुक्रा पारेको मुटु छ । समयसँग परिवर्तन हुन नसकेको पवित्र अनि दुर्बल मन छ । हो मेरो पनि अतीतको कथा छ । सुन्छौ भने भन्छु तिमिलाई आउ बस छेउमा ।।

हराइसकेका आशा बिउझाउने हिम्मत राख्छौं भने भन्छु मेरा अतित ।खुसीको बोटलाई आशुले सिँचाइ गरेको ती क्षण । चाहनाको निलो समुन्द्रमा विष झै घोलिएका आफ्नाको असह्य शब्द अनि परिस्थितिको रापिलो तापले मायाको घरमा लागेको त्यो आगोको कथा । कसैको पर्खाइमा बितेको जीवन अनि अन्त्यमा परिवारको मन्जुरीमा सहमति जनाइएको त्यो विगत । मेरो पनि छुट्टै कथा छ सुन्छौ भने भन्छु तिमिलाई आउ बस छेउमा ।।

टुक्रेको मुटु सिलाउने हिम्मत गर्छौ भने भन्छु मेरो डरलाग्दो भुतकाल ।थाहा छ विगत वर्तमान हुन सक्दैन । पुरानो घाउमा मलहम लगाउने क्षमता छ भने भन्छु मेरा कथा । आफन्तको खुसीको आगि म एक्लो भएको त्यो दिन । एक चिट्ठीको भरमा साचेको पिरती अनि त्यहीँ पिरती टुङ्याउन तिमिले समयलाई गुहारेका बिन्ती । तिमीअघि नौनी जस्तै पग्लिएका ती भावनाको पहाड । मेरो पनि कथा छ सुन्छौ भने भन्छु तिमिलाई आउ बस छेउमा ।।

रहरै रहरमा बितेको त्यो बालापन जहाँ सधैं अभावले पछ्याइरह्यो । खुशीमा मिलेको आफन्त दु:खमा गुमाए अनि दु:खमा पाएको उसलाई सुखमा गुमाउदाको त्यो हृदयविदारक पल । सत्यतामा अडिक साहसिला कदमहरु भावुकतामा डगमगाएको त्यो दिन । सधैं एक हुने वाचा हुँदाहुँदै पनि भित्री मौनतालाई चिर्दै पराइको दलदलमा हाम फालेको त्यो दिन । अझै सम्झन्छु मलाई पलभरमै छुट्टै संसारमा पुर्‍याइएको त्यो मुस्किल  विदाई । साच्चै मेरो पनि कथा छ सुन्छौ भने भन्छु तिमिलाई आउ बस छेउमा ।।

शीर्ष समाचार

धेरै पढिएको