हाम्रो कान्तिपुर विशेष
“२० वर्ष सीआरपीडी : प्रगतिको खोजाइ, समुन्नत भविष्यको रोजाइ” र राष्ट्रिय नारा “अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणको आधार : महासन्धि कार्यान्वयनमा सामूहिक प्रयास यसको पूर्वाधार” का साथ यही डिसेम्बर ३, २०२६ मा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको ३५ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमहरू चलिरहँदा नेपालको बैंकिङ तथा सामाजिक क्षेत्रमा एउटा यस्तो प्रेरणादायी नाम अग्रपङ्क्तिमा आउँछ— सूर्य चौलागाईँ।
सुनाइ अपाङ्गता (बहिरा) भएर पनि नेपालको सरकारी बैंकिङ सेवामा प्रवेश गर्ने पहिलो व्यक्ति बनेका चौलागाईँ यतिबेला केवल एक सफल बैंकर मात्र होइनन्, अपाङ्गता भएका व्यक्तिहरूलाई उद्यमशीलता र वित्तीय पहुँचमार्फत आत्मनिर्भर बनाउने अभियानका सारथि बनेका छन्।
गाउँको स्कुलदेखि सुनाइ गुमाउँदाको पीडासम्म
२०४८ मंसिर ९ गते दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४, जिलुमा जन्मिएका सूर्यको बाल्यकाल गाउँकै सरकारी विद्यालयमा बित्यो।

विद्यालय तहदेखि नै कान कम सुन्ने समस्या भोगिरहेका उनको दायाँ कानको नसा सुक्दै गयो। पछि सङ्क्रमणका कारण १८ वर्षको उमेर पुग्दा उनले दुवै कानको सुनाइ शक्ति पूर्ण रूपमा गुमाए।
सुनाइ शक्ति गुम्नु उनको जीवनको सबैभन्दा कठिन मोड थियो। तर, उनले हरेस खाएनन्। २०६३ सालको एसएलसी परीक्षामा ७० प्रतिशत अङ्क ल्याएर उनी विद्यालयकै ‘टपर’ बने। गणित विषयमा अब्बल रहेका सूर्यको सपना कम्प्युटर इन्जिनियर बन्ने थियो। थापाथली इन्जिनियरिङ क्याम्पसमा नाम ननिस्किएपछि उनले व्यवस्थापन संकाय रोजे।
व्यवस्थापन पढ्दै गर्दा चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने रहरले उनलाई प्रिमियर इन्टरनेशनल कलेज पुर्यायो। तर, सुनाइ समस्याकै कारण कलेजले भर्ना लिन त परै जाओस्, परामर्शसमेत दिन मानेन। समाज र शैक्षिक संस्थाको त्यो विभेदलाई इखका रूपमा लिँदै उनले २०७२ सालमा नेपाल कमर्स क्याम्पसबाट लेखाशास्त्र (Accountancy) विषयमा स्नातकोत्तर उत्तीर्ण गरे। ज्ञानको भोक नमेटिएपछि उनी हाल कानुन संकाय (एलएलबी) समेत अध्ययन गरिरहेका छन्।
लोक सेवामा ७ पटकको असफलता र ऐतिहासिक सफलता
शैक्षिक योग्यता हासिल गरेपछि सरकारी सेवामा प्रवेश गर्ने उनको यात्रा झनै सङ्घर्षपूर्ण रह्यो। लिखित परीक्षामा अब्बल ठहरिए पनि लोक सेवा आयोगको बैंकिङ सेवातर्फको अन्तर्वार्तामा सुनाइ समस्याकै कारण उनी ७ पटकसम्म असफल भए। तर, आठौँ प्रयासमा उनको अठोटले जित्यो। २०७५ सालमा सहायक प्रबन्धक पदबाट राष्ट्रिय वाणिज्य बैंकको स्थायी सेवामा प्रवेश गर्दै उनी नेपालको पहिलो बहिरा सरकारी बैंकर बने।

बैंक प्रवेशपछि पनि उनले आफ्नो क्षमता प्रमाणित गर्न पछि परेनन्। बैंकको अत्यन्तै जटिल र संवेदनशील मानिने ‘कर प्रशासन’ (Tax Administration) को कार्यमा उनले आफूलाई निपुण साबित गरे। २०७८ सालमा आन्तरिक प्रतिस्पर्धातर्फको लोक सेवा परीक्षा उत्तीर्ण गरी उनी उपप्रबन्धक पदमा बढुवा भए। हाल उनी राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयस्थित वित्त विभागमा कार्यरत छन्।
कार्यालयमा सहकर्मी साथीहरूबाट भरपूर हौसला र सहयोग मिले पनि नेतृत्व तह (हाकिमहरू) बाट तालिम, सेमिनारमा सहभागिता र महत्वपूर्ण जिम्मेवारी दिने सवालमा अझै पनि फरक दृष्टिकोण राखिने गरेको उनको तीतो अनुभव छ। २५ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका चौलागाईँको परिवारमा हाल श्रीमती र एक छोरी छन्।
बाइक किन्ने पैसाले ठडिएको बहिरा विद्यालय
सूर्यको परिचय बैंकिङ क्षेत्रको सफलतामा मात्र सीमित छैन। २०७२ सालमा स्नातकोत्तर अध्ययन गर्दै गर्दा उनलाई आफ्नै गाउँठाउँका सुनाइ अपाङ्गता भएका बालबालिकाको शिक्षाको चिन्ताले सतायो। फलस्वरूप, दोलखामा ‘भीमेश्वर बहिरा आधारभूत विद्यालय’ स्थापना गर्ने अठोट लिए।
विद्यालय भवन निर्माणका लागि उनले बुबाले मोटरसाइकल किनिदिन राखेको पैसासमेत खर्चिए। साथीभाइसँग चन्दा सङ्कलन, सामुदायिक वनबाट काठ र बाँसको जोहो, बहिरा साथीहरूसँग सापट र स्वयंको श्रमदानबाट उनले विद्यालय ठड्याए। उनकै कुशल संस्थापन नेतृत्वमा सुरु भएको उक्त विद्यालयबाट हालसम्म १२ जनाले एसएलसी/एसईई उत्तीर्ण गरिसकेका छन् भने अहिले ४० जना बालबालिका आवासीय सुविधासहित अध्ययनरत छन्। विद्यालयमा ५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।

अपाङ्गता समुदायको आर्थिक सशक्तीकरण र खेलकुदमा नेतृत्व
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रीय कार्यसमिति सदस्य तथा उद्यमशीलता विकास विभागका संयोजक रहेका चौलागाईँ यतिबेला अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने महाअभियानमा जुटेका छन्।

बैंकको अनुभवलाई समुदायसँग जोड्दै उनले हालसम्म ८ वटा जिल्लाका करिब ४०० जना बहिरा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई वित्तीय साक्षरता र उद्यमशीलता विकाससम्बन्धी तालिम दिइसकेका छन्। राज्यले उपलब्ध गराउने सहुलियतपूर्ण ब्याज अनुदान कर्जामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुर्याउन उनले परामर्श दिने, व्यावसायिक प्रस्ताव (प्रपोजल) तयार पारिदिने र बैंकहरूसँग समन्वय गरी कर्जा दिलाउने अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन्। दोलखा बहिरा संघको कोषाध्यक्षका रूपमा समेत उनले जिल्लामा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएका छन्।
बैंकिङ र सामाजिक अभियन्तासँगै सूर्य एक अब्बल खेलाडी पनि हुन्। नेपाल बहिरा ओलम्पिक कमिटीका कोषाध्यक्ष रहेका उनी राष्ट्रिय बहिरा फुटबल टोलीका महत्वपूर्ण सदस्य हुन्। हालै दक्षिण कोरियामा सम्पन्न एसिया कप फुटबल प्रतियोगितामा समेत उनले नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका छन्।
अपाङ्गता शारीरिक अवस्था मात्र हो, अवसर र पहुँच पाए अपाङ्गता भएका व्यक्तिहरूले पनि राज्यको नीतिगत तथा आर्थिक विकासमा निर्णायक भूमिका खेल्न सक्छन् भन्ने जीवन्त उदाहरण बनेका छन्— सूर्य चौलागाईँ।







