June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

पशुपतिमा क्षेत्रमा गुरु योजना भित्र्याएर अरबौंको चलखेल भयो: अध्यक्ष भण्डारी

काठमाडौं, पशुपतिनाथ सेवक संघ तथा भण्डारी समाजको अध्यक्ष केदारमान भण्डारीले पछिल्लो समय बागमती नदि ढलनदिमा परिणत भएको बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पछिल्लो समय पशुपति क्षेत्रको हरियाली सबै नष्ट भएको बताएका हुन् ।

प्रदुषणमुक्त बागमती नदि अहिले ढलमतीमा परिणत भएकोले छुन पनि घिन लाग्ने स्थिति आएको उनको गुनासो छ । भगवान् शिव र पार्वतीले रमन गरेको पवित्र स्थान मृगस्थलीलाई मरुभूमि र चिहान डाडो बनाएकोप्रती उनले आपत्ति जनाएका छन् ।

पछिल्लो समय पशुपति मन्दिरमा राखिएको विभिन्न मुर्ति चोरी भएको र परापुर्वदेखी चली आएको पर्वहरु क्षतविक्षत भएको बताए । पशुपति परिसरको विकासका लागि स्थापित अधिकार सम्पन्न पशुपति क्षेत्र विकास कोषले व्यापारिक निति भित्र्याएको उनी बताउँछन् ।

“पशुपति विकास कोष आएदेखी यहाँको संरक्षण र विकास होला भनेको तर त्यसको ठिक विपरीत व्यापारिक नीति र सय वर्षे गुरु योजना भित्र्याएर ऐतिहासिक र प्राचीन बस्ती भत्काएको छ । व्यवस्थापन भन्दा विकृति र विसंगती फैलाएको छ ।” धेरै अनुरोध र पत्राचारका बाबजुद पनि स्थानीयलाई सो गुरु योजनामा संलग्न नगराइएको उनले बताए ।अध्यक्ष भण्डारीले भने, “गुरु योजनामा स्थानीय सरोकारवाला र बासिन्दालाई संलग्न नगराई राजनीतिक चहलपहलमा नियुक्ति गराइएको छ । यस योजनाले पशुपति क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्नुको सट्टा अन्तर्राष्ट्रिय व्यापारिकरण गर्ने थलो बनाएर अरबौंको चलखेल गरेको छ ।”

विश्वकै केन्द्रविन्दु रहेको उक्त क्षेत्रलाई खेलान्ची गरेर नेपाल सरकार र पशुपति क्षेत्र विकास कोषले जिवन्त संस्कृतिसँगै प्राचीन थलो नष्ट गरेको अध्यक्ष भण्डारीको आरोप छ ।

हेर्नुहोस अध्यक्ष केदारमान भण्डारीसँग लिइएको अन्तर्वार्ता:

शीर्ष समाचार

धेरै पढिएको