November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

अमेरिकी राष्ट्रपति चुनाव: आगामी चार वर्ष ट्रम्प कि वाइडेन ?

  • 21
    Shares

वासिङ्टन, संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनमा विश्वको चासो बढिरहेको छ । निर्वाचन नजिकिँदै गर्दा अमेरिकाभित्र मात्रै होइन, विश्वभर यसको विश्लेषण भइरहेको छ ।

निर्वाचनको तीन दिन अघिसम्म पनि ट्रम्प वा वाइडेन कसले राष्ट्रपतिको जित्नसक्छ भनेर ठ्याक्कै आँकलन गरेर भन्न सक्ने स्थिति नभएको धेरैको मत छ ।राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति वाइडेन चुनावी सभा वा र्‍यालीलाई सम्बोधन गर्न अमेरिकी राजनीतिलाई प्रायःजसो काबुमा राख्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन तथा वाइडेनको डेमोक्रेट पार्टीमध्ये कुनै पनि पक्षमा असंलग्न रहेका मध्यपश्चिमी राज्यहरू नर्थ क्यारोलिना, मिचिगन, पेन्सिलभेनिया, मिनिसोटा, विस्कन्सिन, फ्लोरिडा, एरिजोना, जर्जिया, टेक्सस र नेभाडा लगायतका राज्यमा आफ्नो शक्ति र स्रोत लगाएर जनमत आफूतिर आकर्षित गर्न तँछाडमछाड गरेर दुवै उम्मेदवार लागिरहेका छन् । सम्भवतः पेन्सिलभेनिया तथा मिचिगनले अमेरिकी राजनीतिको पटाक्षेप गर्न सक्ने अनुमान स्वतन्त्र पर्यवेक्षक तथा विश्लेषकहरूले गरेका छन् ।

धेरैजसो सर्वेक्षणले भने वाइडेनको पक्षमा जनमत उर्लिएका कारण उनले विजय हात पार्ने कुरा औँल्याएका छन् भने एकाध सर्वेक्षणले मात्र ट्रम्पले जित्ने भविष्यवाणी गरेका छन् ।

राजनीतिक पण्डितहरूले यसपटक अफ्रिकी अमेरिकनले निर्वाचनमा बढ्ता सहभागिता जनाएको, युवा र नयाँ मतदाताको सहभागिता पनि धेरै भएको, अग्रिम मतदान पनि ज्यादा भइसकेको कारण वाइडेनले जित हात पार्ने अनुमान गरेका छन् किनकि रजिष्टर गरिएका मतदातामध्ये ४३ प्रतिशत डेमोक्रेट र २५ प्रतिशत रिपब्लिकन रहेका छन् ।

अग्रिम मतदानमा डेमोक्रेटको बाहुल्य भए पनि निर्वाचनका दिन अधिकभन्दा अधिक रिपब्लिकनले मतदानमा सहभागिता जनाउने भएका कारण निर्वाचनको भेउ पाउन अझै हम्मेहम्मे परेको हो तर पनि स्वतन्त्र सर्वेक्षणले हालसम्म ट्रम्पको पक्षमा १८८ र वाइडेनको पक्षमा २३३ इलेक्टोरल मत सुरक्षित रहेको दाबी गरेका छन् । ट्रम्प पक्षीय पर्यवेक्षकहरूले सन् २०१६ को नतिजामा जर्जिया र एरिजोनासमेत थपिने दाबी गरेका छन् ।

वाइडेनले ट्रम्पलाई कोरोना सामु आत्मसमर्पण गरेको, रङ्गभेद नीतिलाई बढावा दिएको र देशलाई विभाजनको रेखामा लगेको आरोप लगाएका छन् भने ट्रम्प र रिपब्लिकनले आठ वर्ष उपराष्ट्रपति र ४७ वर्षसम्म सिनेटर बनेका वाइडेनले अमेरिकालाई समुन्नत बनाउन के भूमिका खेले ? भनेर प्रश्न गरिरहेका छन् ।

यद्यपि अग्रिम मतदान भने करिब दुई हप्ताअघि नै सुरु भइसकेको छ । कोरोना (कोभिड–१९) भाइरसका कारण यसपटक अग्रिम मतदान र हुलाकमार्फत गरिएको मतदानमा आधाभन्दा बढी व्यक्तिले भाग लिइसकेको जनाइएको छ । अमेरिकी समय शनिबार रातिसम्ममा करिब आठ करोड ५० लाख मतदाताले मतदान गरिसकेका छन् । जसमध्ये हुलाकमार्फत गरिएको मत सङ्ख्या पाँच करोड ५० लाख छ । चार वर्षअघि सन् २०१६ मा झण्डै १४ करोड मतदाताले मतदान गरेका थिए भने यसपटकको निर्वाचनमा करिब १६ करोड मतदाताले सहभागिता जनाउने अनुमान छ । अमेरिकी इतिहासमा नै मतदानको दिनअघि नै यति धेरै मतदान गरिएको यो पहिलो पटक हो ।

शीर्ष समाचार

धेरै पढिएको