September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

कोरोनाबाट निको भएको भन्दै ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

काठमाडौं, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट शनिबार साँझ सम्बोधन गरेका छन् ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उनीबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरानाभाइरसका लक्षणहरु नदेखिएको र उहाँ पूर्ण स्वस्थ रहेको बताएका छन् ।

अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोरानाभाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ । राष्ट्रपति स्वयंले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नीतिमाथि व्यंज्ञ गर्दै आएका छन् ।

ह्वाइट हाउसको शनिबार आयोजित सार्वजनिक समारोहमा पनि राष्ट्रपति ट्रम्पले मास्क लगाएनन् । तर उनका वरिपरि अरु व्यक्ति थिएनन् । कोरोना उपचार पछि उनी गत सोमबार ह्वाइट हाउस फर्केका थिए ।एजेन्सी

राष्ट्रिय मत सर्वेक्षणमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि देखिएका राष्ट्रपति ट्रम्पले अब विभिन्न राज्यमा चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको