April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर

  • 20
    Shares

जुबा, सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच शनिबार दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी दशकौं लामो गृहयुद्ध अन्त्य हुने दुबै पक्षले विश्वास लिएका छन् ।

प्रधानमन्त्री अब्दल्ला हम्डोकले दक्षिण सुडानको राजधानी जुबा पुगेलगत्तै ट्वीट गर्दै भने “अब देशका अघिल्तिरका सबैभन्दा ठूलो चुनौती भनेको स्थानीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताहरू गर्नु हो ।”

सुडानका विशाल प्रान्तहरुमा कब्जा जमाएर बसेका विद्रोहीहरूसँग वार्तामार्फत् समस्या सुल्झाउनु पनि संक्रमणकालीन सरकारसामु अर्को चुनौती छ । सत्ता विद्रोहपछि सेनाले सन् २०१९ को अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्युत गरेको थियो ।

सुडानी नागरिक नेताहरूले पछिल्लो सम्झौताका कारण देशको सैन्य खर्चमा व्यापक कटौती हुने विश्वास व्यक्त गरेका छन् । उनीहरुको भनाईमा देशको अर्थव्यवस्था पुनर्जीवित हुनेछ किनभने अहिलेसम्म सैन्य व्यवस्थामै सबैभन्दा बढी खर्च हुने गरेको छ ।

सुडानी सरकार र केही सशस्त्र समूहको गठबन्धन सुडान क्रान्तिकारी मोर्चाबीच गत अगस्टको अन्तमा भएको सहमतिलाई जुबामा शनिबार आयोजित समारोहमा औपचारिकता दिइएको हो ।

शिखर सम्मेलनमा दक्षिण सुडानका राष्ट्रपति साल्वा कीरको सहभागिता थियो । दशकौं लामो गृहयुद्ध पछि सन् २०११ मा सुडानबाट दक्षिण सुडानले स्वतन्त्रता पाएको थियो । सुडानको सार्वभौम परिषदका प्रमुख जनरल अब्देल–फत्ताह बुरहान र उनका सहायक जनरल मोहम्मद हमादान डागालो पनि उक्त समारोहमा उपस्थित थिए । अर्धसैनिक बलका कमाण्डर डागालोले विद्रोही नेताहरूसँग सम्झौतामा हस्ताक्षर गरेका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको