
काठमाडौं, मानव शरीरको महत्वपूर्ण अंग हो कलेजो । शरीरलाई स्वस्थ बनाइराख्न कलेजोले धेरै काम गर्नुपर्छ । प्रोटिन बनाउने, रगतमा आन्द्राबाट आएका किटाणुलाई नष्ट गर्ने, शरीरलाई चाहिने ग्लुकोज र बोसोलाई भन्डारण गरी शरीरका अन्य भागमा पठाउने, मेटाबोलिजमलाई नियन्त्रण गर्ने लगायत महत्वपूर्ण काम कलेजोले गर्छ ।
कलेजोले २ सय देखि ३ सय वटासम्म काम गर्छ । तर कुनै समय कलेजोले आवश्यकभन्दा धेरै वा थोरै काम गर्न सक्छ । धेरै काम गर्छ भने त्यसलाई समस्याको रुपमा लिनु हुँदैन । तर जब यसले आवश्यकभन्दा कम काम गर्न थाल्छ, त्यसपछि शरीरमा विभिन्न समस्या निम्त्याउँछ ।
कुनै कारणबस कलेजोमा खराबी आउँदा निष्क्रिय हुन थाल्छ अर्थात् यसले गर्ने काममा ह्रास आउँछ । कलेजोमा खराबी आए पनि नयाँ कलेजो पलाउने क्षमता हुन्छ तर त्यसको पनि सीमा हुन्छ ।
कलेजो धेरै नै बिग्रेको छ भने त्यसले पनि काम गर्दैन । कलेजोमा कति खराबी छ र शरीरले कति हदसम्म नियन्त्रण गर्न सक्छ भन्नेमा पनि भर पर्छ ।
कलेजोले काम गर्न छाड्नुको प्रमुख कारण मादक पदार्थको अधिक सेवन नै हो । अधिक मात्रामा मादक पदार्थ सेवन गर्ने व्यक्ति यसको उच्च जोखिममा पर्छन् । त्यसपछि भाइरल हेपाटाइटिस पर्छ । यसमा पनि भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ ले दीर्घकालमा असर गर्छ । कलेजोमा बोसो जम्मा हुँदा पनि यसले गर्ने काममा ह्रास आउन थाल्छ। यी बाहेक वंशाणुगत अनि जन्मजातले पनि यस्तो हुन्छ। यो समस्या नेपालमा बढ्दो छ ।
कलेजोलाई कसरी स्वस्थ राख्ने
– मादक पदार्थ सेवन गर्नु हुँदैन । थोरै मादक पदार्थको सेवन गर्दा स्वस्थ भइन्छ भन्ने भ्रम छ, यो कुनै तथ्यमा आधारित छैन ।
– भाइरल हेपाटाइटिसले रगतको माध्यमबाट कलेजोमा असर गर्ने हुँदा यसबाट बच्न खोप लगाउनुपर्छ।
– कलेजोमा बोसो लाग्ने समस्याबाट छुटकारा पाउन तौल नियन्त्रणमा राख्नुपर्छ ।
– स्वस्थ र सक्रिय जीवनशैली अपनाउनुपर्छ ।
कुनै व्यक्तिमा कलेजोले काम कम गरेमा लक्षणका आधारमा उपचार हुन्छ । समयमै रोग पहिचान गर्न सकियो भने उपचार सहज हुन्छ । आफूलाई शंका लाग्ने बित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
कलेजोको नियमित परीक्षण गराउनुपर्छ । सुरुवाती चरणमा रोग पत्ता लागे निको हुन्छ तर अन्तिम अवस्थामा भए रोग निको हुन गाह्रो हुन्छ । यदि औषधिले निको नभए कलेजो प्रत्यारोपण यसको अन्तिम विकल्प हो ।







