छाङ्वोन दक्षिण कोरिया –दक्षिण कोरियामा भएको पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा सहभागी नेपाली बहिरा फुटबल टोलीको सम्मान तथा हौसला बढाउन ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाले सहयोग सामग्री हस्तान्तरण गरेको छ।
समाजले सञ्चालन गरेको सहयोग संकलन अभियानमार्फत जुटेको १२ लाख २० हजार वन बराबरको रकमबाट नेपाली टोलीका ३६ जना खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन सदस्यलाई न्यानो विन्टर ज्याकेट, म्याक्सिम कफी र चकलेटलगायतका सामग्री प्रदान गरिएको हो। अभियानमा दक्षिण कोरियामा रहेका ४१ जना नेपालीले आर्थिक सहयोग गरेका थिए।
परदेशी भूमिमा रहेर पनि मातृभूमिको गौरव बढाउन अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रिएका खेलाडीहरूप्रति सम्मान, माया र ऐक्यबद्धता जनाउने उद्देश्यले सहयोग अभियान चलाइएको समाजले जनाएको छ। विशेषगरी फरक सञ्चार क्षमताका कारण विशेष परिस्थितिमा रहेका खेलाडीहरूको मनोबल उच्च राख्न यो पहल गरिएको बताइएको छ।
हस्तान्तरण कार्यक्रममा समाजका महासचिव दीपक आचार्यले खेलाडीहरूको मिहिनेत, साहस, सङ्घर्ष र देशप्रतिको समर्पणको प्रशंसा गर्दै जित–हारभन्दा माथि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नु आफैँमा गर्वको विषय भएको धारणा राख्नुभयो। खेलका क्रममा केही खेलाडी घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। परिवारबाट टाढा रहे पनि नेपाली समुदायको साथ र आत्मीयता महसुस होस् भन्ने भावनाले सहयोग गरिएको उहाँको भनाइ थियो। साथै, उहाँले आगामी दिनमा निरन्तर साथ रहने प्रतिबद्धता जनाउँदै सन् २०२७ मा टर्कीमा हुने विश्वकपका लागि टोलीलाई अग्रिम शुभकामना दिनुभयो।
कार्यक्रममा ख्यङ्नाम नेपाली समाजका अध्यक्ष रबि खवास, महासचिव दीपक आचार्य, सल्लाहकार नवराज पाण्डे र शिव आचार्य, उपाध्यक्षहरू बबी रोका, रोहित भण्डारी, मनिष मगर, संरक्षक धनबहादुर मगर, कोषाध्यक्ष बाला थुलुङ राई तथा नेपाल फुटबल महासङ्घ कोरियाका अध्यक्ष हेमन्त गुरुङलगायतको उपस्थिति थियो। कार्यक्रमको समन्वय तथा व्यवस्थापन समाजका सहकोषाध्यक्ष केदार अधिकारीले गर्नुभएको थियो।
नेपाली टोलीका तर्फबाट नेपाल बहिरा ओलम्पिक कमिटी, काठमाडौँका संयोजक कुलप्रसाद भट्टराई, कोषाध्यक्ष सूर्यकृष्ण चौलागाईँ, प्रशिक्षक जयकृष्ण श्रेष्ठ, अनिल गुरुङ, महिला प्रशिक्षक अनु लामा तथा खेलाडीहरूको सहभागिता रहेको थियो।
समाजले यो सहयोगलाई केवल आर्थिक पाटोमा मात्र सीमित नराखी प्रवासमा रहेका नेपालीहरूबीचको एकता, सद्भाव, सामाजिक उत्तरदायित्व र राष्ट्रिय भावनाको उदाहरणका रूपमा लिएको छ। अभियानमा योगदान पुर्याउने सम्पूर्ण सहयोगीप्रति समाजले हार्दिक आभार व्यक्त गरेको छ।








