हाम्रो कान्तिपुर – सविना कार्की
खेलकुद समाचार
छाङ्वोन (दक्षिण कोरिया) दक्षिण कोरियाको चाङ्वोनमा जारी ५औँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग ५–२ गोल अन्तरले पराजित भएको छ। अङ्क तथा नतिजाको समीकरणका आधारमा स्थान तय हुने प्रतियोगितामा यो जितसँगै भारतले उपाधि हात पार्ने पक्का भएको छ।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो, जहाँ नेपालले भारतविरुद्ध २–२ को बराबरी खेलेको थियो। तर, दोस्रो हाफमा भारतले आक्रामक रणनीति अपनाएपछि खेलको अवस्था फेरियो। सोही क्रममा नेपाली टोलीका केही खेलाडी घाइते भए भने नेपाली डिफेन्डर ईश्वर गिरीको देब्रे हात भाँचिन पुग्दा नेपाली टोलीले बाँकी समयमा आफ्नो स्वाभाविक लय कायम राख्न सकेन।
प्रतियोगिताको समीकरणअनुसार चीन दोस्रो स्थानमा रहने पक्का भएको छ। उता, नेपालले थाइल्यान्डलाई पराजित गर्नुका साथै कोरिया, चीन र भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकाले तेस्रो स्थानको बलिया दाबेदार बनेको छ। यही प्रदर्शन र नतिजासँगै नेपाली बहिरा फुटबल टोली आगामी सन् २०२७ मा टर्कीमा आयोजना हुने विश्वकप मा छनोट भई सहभागिता जनाउन पाउने पक्का भएको छ।
प्रतियोगिताको औपचारिक उपाधि घोषणा तथा पुरस्कार वितरण कार्यक्रम आज बेलुका गरिने जनाइएको छ।
ADFF को दोस्रो कार्यसमिति बैठक सम्पन्न, २०२७ का प्रतियोगिता चीनमा
यसैबीच, एसियन बहिरा फुटबल महासंघ (ADFF) को दोस्रो कार्यसमिति बैठक चाङ्वोनस्थित चाङ्वोन फुटबल सेन्टरको तेस्रो तल्लाको सम्मेलन कक्षमा सम्पन्न भएको छ।
महासंघका अध्यक्ष चो मान–सू (Cho Man-Soo) को अध्यक्षतामा बसेको बैठकले आगामी प्रतियोगिता, रणनीतिक योजना तथा एसियाभर बहिरा फुटबलको विकासबारे छलफल गर्दै सन् २०२७ को अगस्ट महिनामा चीनको फोसान (Foshan) मा दोस्रो एसियन फुत्सल क्लब च्याम्पियनसिप २०२७ तथा त्यसअघि २०२७ ADFF कङ्ग्रेस आयोजना गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ।








