छाङ्वन (दक्षिण कोरिया) । राष्ट्रको प्रतिनिधित्व गर्दै पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप (5th Asia Pacific Deaf Football Championships) खेल्न दक्षिण कोरियाको छाङ्वनमा आएका नेपाली बहिरा (डेफ) फुटबल खेलाडीहरू गम्भीर आर्थिक भारमा परेका छन्। सीमित स्रोतसाधन र व्यक्तिगत खर्चको जोहो गर्दै प्रतियोगितामा सहभागी हुन आएका महिला तथा पुरुष टोलीका कुल ३६ खेलाडीलाई हवाई टिकट, आवास, भोजन तथा दर्ता शुल्क व्यवस्थापन गर्न कठिन भएको हो।
प्रतियोगितामा नेपालको तर्फबाट महिला टोलीमा १६ र पुरुष टोलीमा २० गरी ३६ खेलाडी सहभागी छन्। अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरव बढाउने लक्ष्यका साथ कोरिया आइपुगेका खेलाडीहरूका लागि ठूलो धनराशि खर्च भइरहेको नेपाल बहिरा ओलम्पिक कमिटीले जनाएको छ।
कमिटीका अनुसार हालसम्मको अनुमानित खर्च विवरण यस्तो छ:
हवाई टिकट: प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँका दरले ३६ जनाको कुल ५४ लाख रुपैयाँ।
खाना र आवास: विशेष अनुरोधपछि आयोजकबाट केही छुटको व्यवस्था गरिए पनि प्रतिव्यक्ति प्रतिदिन ३० अमेरिकी डलरका दरले १२ दिनको कुल ६ हजार ६ सय अमेरिकी डलर (करिब १० लाख रुपैयाँभन्दा बढी)।
दर्ता शुल्क: प्रतियोगिता सहभागिताका लागि कुल ३ हजार ६ सय अमेरिकी डलर (करिब ५ लाख रुपैयाँ)।
राज्यस्तरबाट पर्याप्त बजेट विनियोजन नहुँदा र अन्य प्रायोजकको अभावका कारण यति ठूलो आर्थिक भार खेलाडी र व्यवस्थापन पक्षले एक्लै धान्न मुस्किल परेको कमिटीका कोषाध्यक्ष तथा फुटबल खेलाडी सूर्य कृष्ण चौलागाईँले बताउनुभयो।
कमिटीका अध्यक्ष कुलप्रसाद भट्टराईले बहिरा खेलाडीहरूलाई राज्यका तर्फबाट कुनै आर्थिक सहयोग नमिलेको गुनासो गर्नुभयो। यद्यपि, टोलीको विशेष अनुरोधपश्चात् प्रतियोगिता आयोजकले नेपाली महिला खेलाडीहरूका लागि निःशुल्क आवास तथा भोजनको प्रबन्ध गरिदिनुका साथै समग्र खाना र आवास खर्चमा केही सहुलियत (छुट) उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो।
२४ नोभेम्बर २०२६ सम्मका खेल नतिजा
नोभेम्बर २० देखि २९, २०२६ सम्म दक्षिण कोरियाको चाङ्वनमा जारी प्रतियोगितामा २४ नोभेम्बरसम्म सार्वजनिक नतिजाअनुसार:
पुरुषतर्फ: २१ नोभेम्बरमा नेपालले थाइल्यान्डलाई २–१ ले पराजित गरेको छ भने सोही दिन चीनले कोरियालाई ९–१ ले हराएको छ। २२ नोभेम्बरमा भारतले चीनलाई २–१ ले र कोरियाले नेपाललाई ६–४ ले पराजित गरेका छन्। त्यस्तै, २४ नोभेम्बरमा चीनले थाइल्यान्डलाई १०–२ ले हराएको छ।
महिलातर्फ: २२ नोभेम्बरमा कोरियाले नेपाललाई ७–० ले पराजित गरेको छ।
शारीरिक चुनौतीका बाबजुद देशको झन्डा फहराउन मैदानमा उत्रिएका खेलाडीहरूको मनोबल उच्च राख्न र आर्थिक संकट टार्न दक्षिण कोरियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए), विभिन्न सामाजिक संघसंस्था, व्यवसायी तथा खेलप्रेमी नेपालीहरूलाई सक्दो सहयोग गरिदिन टोलीले अपिल गरेको छ।







