भुवन चाैलागाई
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी २०८३ पुस २० गते (४ जनवरी २०२७) काठमाडौँमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ । संघले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी ‘महिला सशक्तिकरणको आधार: रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ नेपाल सरकारसँगको सहकार्यमा उक्त ऐतिहासिक सम्मेलन गर्न लागिएको जानकारी दिएको हो।
सन् २००३ मा स्थापना भएको एनआरएनएको दुई दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलोपटक हो । विश्वका ९० देशमा छरिएर रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूलाई एउटै मञ्चमा जोड्दै अनुभव, ज्ञान र सीप आदानप्रदान गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको संघले जनाएको छ ।
सम्मेलनले महिला सशक्तिकरणका क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा व्यवहारिक चुनौतीहरूको पहिचान गरी तिनको समाधानका लागि आवश्यक पहल र ठोस कार्यदिशा तय गर्ने लक्ष्य राखेको छ ।
सम्मेलनमा छलफल हुने ४ प्रमुख विषयगत क्षेत्रहरू:
नीतिगत तथा कानुनी समीक्षा: महिला सशक्तिकरणसँग सम्बन्धित विद्यमान ऐन, निर्देशिका र नीतिहरूको समीक्षा गर्दै डायस्पोरा समुदायका महिलाका अधिकार, अवसर तथा आवश्यक कानुनी सुधारका विषयमा छलफल गरिनेछ ।
सुरक्षित वैदेशिक रोजगारी र पुनःएकीकरण: वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा, अधिकार, मानसिक स्वास्थ्य र स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणमा एनआरएनएको भूमिकाबारे विमर्श हुनेछ ।
उद्यमशीलता र व्यवसायिक साझेदारी: स्वदेश तथा विदेशका महिला उद्यमीबीच व्यवसायिक सहकार्य, पुँजी तथा प्रविधिमा पहुँच अभिवृद्धि र नेपाली मौलिक उत्पादनको अन्तर्राष्ट्रिय निर्यातमा महिलाको सहभागिता विस्तारबारे छलफल गरिनेछ ।
विपद् व्यवस्थापन, जलवायु न्याय र सुरक्षा: रसुवा–भोटेकोशी बाढीलगायतका प्राकृतिक विपद् तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेका प्रभाव, जलवायु न्याय, साथै लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्धको सुरक्षा एवं संरक्षणलाई प्राथमिकताका साथ उठाइनेछ ।
महिला सशक्तिकरणबिना राष्ट्रको दिगो र समावेशी समृद्धि सम्भव नहुने मान्यतासहित आयोजित यस सम्मेलनले नेपालका सातै प्रदेश तथा स्थानीय तहका महिला उद्यमीहरूलाई पुँजी, सीप, प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण सेतुको काम गर्ने विश्वास लिइएको छ ।
संघले सम्मेलनलाई भव्य र प्रभावकारी बनाउन नेपाल सरकारका निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, विज्ञ, सञ्चारकर्मी एवं सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय सहभागिता र सहकार्यका लागि हार्दिक अपिल समेत गरेको छ ।
Ad








