बुसान, दक्षिण कोरिया सविना कार्की
दक्षिण कोरियाको बुसानस्थित पुग्योङ नेसनल युनिभर्सिटी (Pukyong National University) को दाइयोन क्याम्पस इनडोर हलमा ‘नेपाल ग्रान्ड फेस्टिभल २०२६ (Nepal Grand Festival 2026)’ को दोस्रो संस्करण उल्लासका साथ सम्पन्न भएको छ।
नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा तिहारको उपलक्ष्यमा नेपालिज कम्युनिटी इन बुसान (NCB) को आयोजनामा नोभेम्बर ९ तारिख (सोमबार) उक्त महोत्सव आयोजना गरिएको हो।
७ सयभन्दा बढीको सहभागिता र देउसी-भैलोको रौनकता
महोत्सवमा बुसान तथा आसपासका क्षेत्रबाट ७०० भन्दा बढी नेपाली दाजुभाइ, दिदीबहिनी तथा विभिन्न विदेशी पाहुनाहरूको बाक्लो उपस्थिति रहेको थियो। ‘नेपाली संस्कृति, एकता र भाइचाराको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली मौलिक नृत्य, देउसी-भैलो तथा विविध सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।
प्रतिभा प्रदर्शनका विजेताहरूलाई नगद पुरस्कार तथा सम्मान
महोत्सवअन्तर्गत सञ्चालित प्रतिभा प्रदर्शन प्रतियोगिता (Talents Show Competition) मा सहभागी भई सर्वोत्कृष्ट प्रस्तुति दिने कलाकार तथा टिमहरूलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिएको छ।
प्रथम पुरस्कार (५ लाख वन): अपेक्षा रुम्बा (BUFS University)
द्वितीय पुरस्कार (३ लाख वन): टिम ट्रिपल ए — एजेन्स शेर्पा, आकाश सुयाल र आयुषा थापा (Dong-eui & Tongmyong University)
तृतीय पुरस्कार (२ लाख वन): टिम इनकम्प्रिहेन्सिबल — प्रिन्स लामा र जेनी मुन (Tongmyong & Dong-eui University)
अडियन्स च्वाइस अवार्ड: डोङ एन्ड द ब्यान्ड — सुजल डोङ तामाङ, कुश अल, निश्चल गजमेर र शिशिर तामाङ (Kyungsung, Tongmyong & Dong-eui University)
बेस्ट भोकल अवार्ड: शक्ति तामाङ (Kyungsung University)
प्रतियोगिताको निष्पक्ष र व्यावसायिक मूल्यांकनका लागि माइकल एडमन्ड्स (Michael Edmunds), निमा शेर्पा (Nima Sherpa) र जेसी कुल (Jesse Cull) सम्मिलित निर्णायक मण्डल (Judging Panel) रहेको थियो।
NCB द्वारा आभार व्यक्त
NCB का पदाधिकारी तथा आयोजक टोलीले महोत्सव सफल बनाउन अहोरात्र खट्ने सम्पूर्ण स्वयंसेवक, कलाकार, प्रायोजक, निर्णायक मण्डल, मिडिया पार्टनर तथा सहभागी ७ सयभन्दा बढी दर्शकहरूप्रति हृदयदेखि नै हार्दिक आभार व्यक्त गरेका छन्।








