छाङवन, दक्षिण कोरिया — नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा तिहारको पावन अवसरमा दक्षिण कोरियाको ख्यङसाङनाम्दाे विदेशी सहायता केन्द्र (경남이주민센터) मा आयोजित विशेष ‘नेपाली फुड फेस्टिभल तथा देउसी-भैलो कार्यक्रम’ ६० जनाभन्दा बढी नेपालीहरु र केही कोरियाली नागरिकहरूको बाक्लो उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम विशेष गरी दक्षिण कोरियाकै ठूलो बहुसांस्कृतिक उत्सव MAMF 2026 मा सक्रिय सहभागी भई कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद ज्ञापन गर्ने र तिहारको खुसी साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको हो।
राष्ट्रिय गानबाट कार्यक्रमको औपचारिक सुरुआत
कार्यक्रमको सञ्चालन शिवा आचार्य र योगिता गौतमले गर्नुभएको थियो। औपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजाइनुका साथै दक्षिण कोरियाको राष्ट्रिय गान (ऐगुक्गा) पनि बजाइएको थियो। दुवै देशका राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्मान र सुमधुर सम्बन्धको झल्को दिएको थियो।
MAMF 2026 का सहयोगीहरूलाई धन्यवाद
कार्यक्रममा ख्याङ्नाम नेपाली समाज दक्षिण कोरियाका अध्यक्ष रवि खबासले वक्तव्य जारी गर्दै MAMF 2026 कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न योगदान पुर्याउने सम्पूर्ण नेपाली समुदाय, स्वयंसेवक तथा सहयोगीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। परदेशको भूमिमा नेपाली कला, संस्कृति र पहिचानलाई उच्च राख्न सबैको सहकार्य प्रशंसनीय रहेको उहाँको भनाइ थियो।
नेपाली परिकारको स्वाद, देउसी-भैलो र उल्लास
कार्यक्रम प्रमुख योगिता गौतम (किम युमी) ले सामाजिक सञ्जालमार्फत जानकारी गराए अनुसार फेस्टिभलमा नेपाली तथा आप्रवासी केन्द्रका कोरियाली पदाधिकारी एवं स्थानीय नागरिकहरूको ठूलो उपस्थिति रहेको थियो।
सहभागीहरूले एकै ठाउँमा भेला भएर तिहारको उपलक्ष्यमा विशेष रूपमा तयार पारिएका नेपाली मौलिक परिकारहरू—सेलरोटी, सुँगुरको मासुको परिकार, पुलाउ, नेपाली अचार तथा fresh फलफूलहरूको स्वाद लिँदै भोजन गरेका थिए। साथै, परम्परागत देउसी-भैलो गाएर र नाचेर परदेशमै घरदेशको न्यास्रो मेट्दै तिहारको शुभकामना आदानप्रदान गरिएको थियो।
आयोजक टोलीको आभार
कार्यक्रम सञ्चालक एवं प्रमुख योगिता गौतमले निरन्तर खटेर कार्यक्रम सफल बनाउने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, स्वयंसेवक तथा आप्रवासी केन्द्रका पदाधिकारीहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै तिहारको मंगलमय शुभकामना व्यक्त गर्नुभयाे।
उक्त कार्यक्रम सञ्चालकमा सिभ आचार्य रहनुभएकाे थियोे भने साथमा याेगिता गाैतमकाे सहयोग रहेको थियोे ।






