दक्षिण कोरिया– सविना कार्की
दक्षिण कोरियाको राजधानी सोलमा आयोजना हुन गइरहेको ‘इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज’ (ICAPP) को १३औँ महासभामा सहभागी हुन पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल दक्षिण कोरिया आइपुग्नुभएको छ।
सोलमा नोभेम्बर ४ देखि ७ (कात्तिक १९ देखि २२) सम्म आयोजना हुने ICAPP को १३औँ महासभामा सहभागी हुन कोरिया आइपुग्नुभएका पूर्वप्रधानमन्त्री नेपाललाई कोरियास्थित अन्तर्राष्ट्रिय नेपाली मञ्च काेरियाका अध्यक्ष जीवन खतिवडा लगायतका नेपाली प्रतिनिधिहरूले विमानस्थलमा न्यानो तथा हार्दिक स्वागत गर्नुभएको हो।
एसियाली ३६ देशका प्रतिनिधिहरूको सहभागिता
एसियाका ३६ देशका करिब ९० राजनीतिक दलका ३०० भन्दा बढी उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुने यस महत्त्वपूर्ण सम्मेलनले एसियाली राजनीतिक दलहरूबीच आपसी समझदारी, राजनीतिक विश्वास, सहकार्य र साझा समृद्धिको आधारलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। अध्यक्ष जीवन खतिवडाले पूर्वप्रधानमन्त्री नेपालको कोरिया भ्रमण पूर्ण रूपमा सुखद, उपलब्धिमूलक र सफल रहोस् भन्दै सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
नोभेम्बर ८ मा दोङ्देमुनमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
ICAPP महासभा सम्पन्न भएपश्चात् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा कोरियास्थित नेपाली समुदायसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ।
मिति: आगामी ८ नोभेम्बर २०२६, आइतबार समय: बिहान १०:०० बजेदेखि स्थान: दोङ्देमुन २ नम्बर गेट नजिकै रहेको नेपाल थाई रेस्टुरेन्टको सभाहल, सउलमा हुनेछ।
उक्त कार्यक्रममा दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण आदरणीय नेपाली व्यक्तित्वहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, बुद्धिजिवी तथा व्यवसायीहरूलाई गरिमामय उपस्थितिका लागि अध्यक्ष जीवन खतिवडाले हार्दिक अनुरोध गर्नुभएको छ।






