दक्षिण कोरिया
दक्षिण कोरियाको राजधानी सोलमा आयोजना हुन गइरहेको ‘इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज’ (ICAPP) को १३औँ महासभामा सहभागी हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरी सोल आउनुहुने भएको छ।
आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै नेता चौधरीले ICAPP को यस महासभामा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै एसियाभरिका राजनीतिक नेताहरूसँग विचार आदानप्रदान गर्न आफू उत्सुक रहेको बताउनुभएको छ।
यस वर्षको मुख्य नारा “परिवर्तित विश्वमा विश्वासको पुनःनिर्माण” नेपालको वर्तमान परिवेशका लागि अति नै सान्दर्भिक रहेको उहाँको भनाइ छ। युवा पुस्ताले पारदर्शी, जवाफदेही र परिणाममुखी नेतृत्वको माग गरिरहेकाले राजनीतिक नेतृत्वले नयाँ सोचका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
महासभाका क्रममा नेपालका अनुभवहरू साट्दै क्षेत्रीय सहकार्यमार्फत लोकतन्त्रको सुदृढीकरण, आर्थिक रूपान्तरण र साझा समृद्धिका विषयमा अन्य एसियाली नेताहरूसँग गहन छलफल गर्ने नेता चौधरीले उल्लेख गर्नुभएको छ।






