सउल दक्षिण कोरिया
दक्षिण कोरियाको राजधानी सोलमा आयोजना हुन गइरहेको ‘इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज’ (ICAPP) को १३औँ महासभामा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उच्चस्तरीय प्रतिनिधिमण्डल कोरिया आइपुगेको छ।
नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्व मुख्यमन्त्री शेरधन राई र विदेश विभाग सचिव गोपाल खनाल सम्मिलित टोलीलाई इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसिज नेपाली फोरम (ONF) दक्षिण कोरियाका अध्यक्ष अञ्जान कुलुङ राई तथा पूर्व अध्यक्ष सिर्जना नेपाली (अलिसा) लगायतका पदाधिकारीहरूले न्यानो र हार्दिक स्वागत गर्नुभएको छ।

नोभेम्बर ४ देखि ७ सम्म सम्मेलन
सोलमा आगामी नोभेम्बर ४ देखि ७ (कात्तिक १९ देखि २२) सम्म ICAPP को १३औँ महासभा सञ्चालन हुँदैछ। यस ऐतिहासिक सम्मेलनमा एसियाका ३६ भन्दा बढी देशका करिब ९० वटा राजनीतिक दलका ३०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ।
सम्मेलनले एसियाली राजनीतिक दलहरूबीच आपसी समझदारी, राजनीतिक विश्वास, सहकार्य र साझा समृद्धिको आधारलाई थप मजबुत बनाउने अपेक्षा राखिएको छ।
भ्रमण सफलताको शुभकामना
ओएनएफ दक्षिण कोरियाले नेकपा एमालेका प्रतिनिधिमण्डलको कोरिया भ्रमण पूर्ण रूपमा सुखद, उपलब्धिमूलक र सफल रहोस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेको छ। प्रवासमा रहेका नेपालीहरूको हित र दुई देशबीचको राजनीतिक तथा सामाजिक सम्बन्धलाई सुदृढ बनाउन यो भ्रमण र सम्मेलन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।






