नेपाली कांग्रेस सिन्धुपाल्चोकको १५औँ जिल्ला अधिवेशन भोलि बाह्रबिसेमा हुँदै, मोहनबहादुर बस्नेत प्रमुख अतिथि हेनेछ।
सिन्धुपाल्चोक- मनिसा कार्की
नेपाली कांग्रेस सिन्धुपाल्चोकको १५औँ जिल्ला अधिवेशन भोलि कात्तिक १६ गते सोमबार बाह्रबिसेमा आयोजना हुने भएको छ।
बाह्रबिसे नगरपालिकाका प्रमुख (मेयर) बालकृष्ण बस्नेतले फेसबुकमार्फत जानकारी दिँदै कात्तिक १६ गते बिहान ठीक १० बजेबाट अधिवेशन सुरु हुने स्पष्ट पार्नुभएको हो। अधिवेशनको उद्घाटन तथा भव्य समारोहमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
बलियो र जुझारु नेतृत्व चयन गर्ने अवसर
मेयर बालकृष्ण बस्नेतले यो अधिवेशन केवल नयाँ नेतृत्व चयनमा मात्र सीमित नभई आगामी स्थानीय तथा आम निर्वाचनलाई समेत लक्षित गर्दै आयोजना गर्न लागिएको बताउनुभएको छ।
संगठनलाई एकताबद्ध, सुदृढ र चलायमान बनाउँदै जनताको सुख-दुःख एवं विपद्मा साथ दिने नेतृत्व निर्माणका लागि यो अधिवेशन ऐतिहासिक हुने उहाँको भनाइ छ।
कार्यकर्ताको शिर झुक्न नदिने र सङ्गठनलाई तीव्र गतिमा अगाडि बढाउन सक्ने नेतृत्व चयन गर्न सबैको सहभागिता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ।
व्यापक सहभागिताका लागि अपिल
मेयर बस्नेतले सिन्धुपाल्चोकका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरू, अग्रज नेताहरू, नौजवान युवाहरू, जेन-जी (Gen-Z) भाइबहिनीहरू तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण आम नागरिकलाई समयमै उपस्थित भई अधिवेशन भव्य रूपमा सफल बनाउन हार्दिक अनुरोध र अपिल गर्नुभएको छ।






