दिपक राउत- युएई
“हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ संयुक्त अरब इमिरेट्स (युएई) मा सातौँ बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। नेपाली रक्तदाता संघ युएईको समन्वय तथा स्वास्थ्य क्षेत्रमा आबद्ध Neeko Polyclinic को आयोजनामा आगामी ६ डिसेम्बर २०२६, आइतबारका दिन उक्त कार्यक्रम हुन लागेको हो।
युएईमा रहेका नेपाली समुदायबीच रक्तदानको महत्व बुझाउन र सहभागिता व्यापक बनाउन यसअघि छ वटा बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
कार्यक्रमको विवरण:
मिति: ६ डिसेम्बर २०२६, आइतबार
समय: बिहान ९:०० बजेदेखि १२:०० बजेसम्म हुनेछ।
स्थान: Dubai Blood Donation Center, Dubai Health Authority (DHA) Headquarters, Al Jaddaf, Dubai यातायात सुविधा: बर दुबईबाट बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म निःशुल्क Pick & Drop बस सेवाको व्यवस्था गरिएको छ।
सम्पूर्ण नेपाली समुदायलाई सहभागिताका लागि अपिल
यो कार्यक्रम कुनै एउटा संस्थाको मात्र नभई युएईमा रहेका सम्पूर्ण नेपाली समुदायको साझा पहिचान र सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान भएकाले युएईमा क्रियाशील सम्पूर्ण संघ-संस्था, व्यावसायिक प्रतिष्ठान तथा सामाजिक व्यक्तित्वहरूलाई सहयोगका लागि हार्दिक अपिल गरिएको छ।

‘एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ’ भन्ने भावनालाई आत्मसात् गर्दै रक्तदान गर्न सक्षम सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई रक्तदान गर्न र अन्य साथीभाइहरूलाई पनि प्रेरित गर्न आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।







