२१ औँ ‘माम्फ महोत्सव’ सुरु: नेपालको संस्कृति प्रदर्शनी र ‘फुड ट्रक’ ले तान्यो ध्यानाकर्षण (तस्बिरहरूसहित)
छाङ्वन दक्षिण कोरिया- सविना कार्की
दक्षिण कोरियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक उत्सवको रूपमा चिनिने २१ औँ ‘माम्फ फेस्टिवल २०२६’ (MAMF – Migrants’ Arirang Multicultural Festival) च्याङ्वोनस्थित योङ्जी कल्चरल पार्क (Yongji Cultural Park) मा औपचारिक रूपमा सुरु भएको छ।
महोत्सव सुरु भएसँगै कार्यक्रम स्थलबाट प्राप्त दृश्यहरू अनुसार नेपालको कला, संस्कृति र परम्परा झल्किने प्रवर्द्धनात्मक स्टलहरू तयार भइसकेका छन्। नेपाली परामर्शदाता योगिता गौतम (किम योमी) ले सामाजिक सञ्जालमार्फत दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई महोत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्नुभएको छ।
नेपाली स्वाद पस्कँदै ‘नेपाली फुड ट्रक’
यस वर्षको महोत्सवमा नेपालको मौलिक स्वाद र परिकारलाई प्रवर्द्धन गर्न विशेष ‘नेपाल फुड ट्रक’ (Pooja 2 Food Truck) सञ्चालनमा ल्याइएको छ। फुड ट्रकमार्फत म्याङ्गो लस्सी, तन्दुरी चिकन नूडल्स सेट लगायतका स्वादिष्ट नेपाली तथा दक्षिण एसियाली परिकारहरू पस्कन सुरु गरिसकिएको छ। कार्यक्रम स्थलमा नेपाली प्रतिनिधिहरू उत्साहका साथ स्वदेशी तथा विदेशी पाहुनाहरूलाई स्वागत गर्न खटिएका छन्।
नेपाली स्टलमा सगरमाथादेखि मौलिक बाजासम्मको सजावट
नेपाली प्रदर्शनी स्टलमा नेपालको राष्ट्रिय झण्डा, सर्वोच्च शिखर सगरमाथा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका मनमोहक तस्बिरहरू सजाइएका छन्। साथै करुवा, मादल, बुद्धको मूर्ति, थानका चित्र, खुकुरी र सांस्कृतिक पुतलीहरूमार्फत विश्वभरका सहभागीहरूलाई नेपालको विविधता र पर्यटकीय सम्भावनाबारे जानकारी गराइँदै छ। नेपालका साथै भियतनाम, कम्बोडिया लगायत १६ भन्दा बढी राष्ट्रका राजदूतावास तथा समुदायले पनि आफ्ना सांस्कृतिक स्टलहरू राखेका छन्।

अक्टोबर २५ मा हुनेछ विशेष झाँकी र सांगीतिक धमाका
आगामी अक्टोबर २५ तारिख (आइतबार) आयोजना हुने मुख्य सांस्कृतिक परेड र विशेष कार्यक्रममा नेपाली समुदायको ऐतिहासिक सहभागिता रहनेछ।
उक्त दिन नेपाली समुदायको तर्फबाट:
चर्चित युवा गायिका बबिना किराती र स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति,
मगर समुदायको मौलिक कौरा तथा सालैजो झाँकी,
सगरमाथा समाजको पञ्चेबाजा र सुदूरपश्चिम समाजको देउडा खेल हुनुका साथै थारु समुदाय एवं NCB नेपाली विद्यार्थीहरूको सामूहिक नृत्य प्रदर्शन गरिनेछ।
विजया दशमीको यो उल्लासमय वातावरणमा प्रवासमा रहेका नेपालीहरूबीच शुभकामना आदानप्रदान र आत्मीय भेटघाटको अवसर समेत मिल्नेछ। आयोजकहरूले सम्पूर्ण नेपालीहरूलाई सम्भव भएसम्म आफ्नो जातीय वा राष्ट्रिय पोशाकमा उपस्थित भई नेपालको सांस्कृतिक पहिचानलाई अझ भव्य रूपमा प्रस्तुत गर्न हार्दिक आह्वान गरेका छन्।






