मैदीकोट, धादिङ
धादिङको मैदीकोटमा आयोजित बहुप्रतीक्षित ‘चौथो खड्गदेवी भलिबल कप तथा सांस्कृतिक कार्यक्रम–२०८३’ भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। गत असोज ३१ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक ३ गते हजारौँ दर्शकहरूको उत्साहजनक उपस्थितिका बिच फाइनल खेल सम्पन्न गर्दै समापन भएको हो।
प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिका सभापति एवम् धादिङ क्षेत्र नं. २ का माननीय सांसद् बोधनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताको अन्तिम तथा समापन समारोह सम्पन्न भएको थियो।
१३ टिमको प्रतिस्पर्धा, सृजनशील बन्यो च्याम्पियन
गोरखा, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका गरी कुल १३ वटा उत्कृष्ट टिमहरू बिच तीव्र प्रतिस्पर्धा भएको यस प्रतियोगिताको पुरुष भलिबलतर्फ सृजनशील युवा क्लब, गोरखाले उपाधि चुम्न सफल भएको छ।
विजयी तथा उत्कृष्ट टिम र खेलाडीहरू:
- प्रथम (विजेता): सृजनशील युवा क्लब, गोरखा — रुपैयाँ ५०,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र
- दोस्रो (उपविजेता): मनकामना युवा क्लब, सिद्धलेक — रुपैयाँ २५,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र
- तेस्रो: खड्गदेवी युवा क्लब, मैदी — रुपैयाँ १५,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र
विधागत उत्कृष्ट खेलाडीहरू:
- उत्कृष्ट खेलाडी (Best Player): सन्तोष बराम (सृजनशील युवा क्लब)
- उत्कृष्ट सेटर (Best Setter): रामजी सुनार (सृजनशील युवा क्लब)
- उत्कृष्ट स्पाइकर (Best Spiker): अमर मगर (मनकामना युवा क्लब)
यसैगरी, महिला भलिबल प्रतियोगितातर्फ उत्कृष्ट प्रदर्शन गर्दै ज्वालामुखी–५, खरे प्रथम हुन सफल भएको छ।
देश-विदेशमा रहेका सम्पूर्ण सहयोगदाताप्रति आभार
प्रतियोगिताको सफल समापनपछि खड्गदेवी युवा क्लबका अध्यक्ष उज्ज्वल श्रेष्ठले खेलकुद र संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
देशभित्र तथा विदेशका विभिन्न ठाउँमा रहेर पनि जन्मभूमि र क्लबप्रतिको माया, सद्भाव र आर्थिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष धन्यवाद दिँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो:
“भौगोलिक दूरीले टाढा भए पनि तपाईंहरूको माया, साथ र सहयोगले हामीलाई सधैँ नजिक बनाएको छ। यो सफलता हामी सबैको साझा सफलता हो। आयोजनाका क्रममा केही कमी-कमजोरी भएका भए क्षमाप्रार्थी छौँ। आगामी दिनमा अझ उत्कृष्ट र भव्य कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।”
अध्यक्ष श्रेष्ठले सम्पूर्ण प्रायोजक, सहयोगीदाता, अतिथिज्यूहरू, खेलाडी, कलाकार, निर्णायक, सुरक्षाकर्मी, स्वयंसेवक, क्लबका पदाधिकारी तथा स्थानीय बासिन्दाहरूप्रति हृदयदेखि नै कृतज्ञता ज्ञापन गर्नुभएको छ।
कार्यक्रमका तस्बिरहरू







