कांग्रेसको १५औँ महाधिवेशन- उपसभापतिमा विनाेद चाैधरीकाे उम्मेदवारी,आर्थिक रूपान्तरण मुख्य एजेन्डा रहेको छ।
काठमाडौं — सविना कार्की
नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा उद्योगी तथा नेता विनोद कुमार चौधरीले केन्द्रीय उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
पार्टीमा युवा नेतृत्वको स्थापित गर्दै देशको आर्थिक रूपान्तरणलाई मुख्य राजनीतिक एजेन्डा बनाउने अङ्गीकारसहित उहाँले यो घोषणा गर्नुभएको हो।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता चौधरीले देशले अहिले युवा नेतृत्व र स्पष्ट आर्थिक भिजन खोजेको बताउनुभएको छ। Gen Z आन्दोलनको मर्म र परिवर्तनको जनआकांक्षालाई सम्मान गर्दै आफूले विशेष महाधिवेशनमा समेत सक्रिय सहभागिता जनाएको उहाँले स्पष्ट पार्नुभएको छ।
उहाँको उम्मेदवारीका मुख्य बुँदाहरू:
आर्थिक रूपान्तरण र रोजगारी: राजनीतिक परिवर्तनका चरणहरू पार भइसके पनि आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुसार नभएकाले अब आर्थिक एजेन्डालाई राजनीतिभन्दा माथि राख्नुपर्ने।
सभापति गगन थापासँग सहकार्य: नेपालको आर्थिक सुधार र विकासका लागि सभापति गगन थापासँग निरन्तर सहकार्य गर्दै आएको र बीपी कोइराला तथा सुवर्ण शमसेरको विचारलाई आत्मसात् गर्दै देशलाई उत्पादनमुखी अर्थतन्त्रमा लैजाने।
युवा र अनुभवको संयोजन: युवाहरूको ऊर्जा र नयाँ पुस्ताको आकाङ्क्षालाई अनुभवी नेतृत्वको ज्ञानसँग जोडेर कांग्रेसलाई अझ आधुनिक, सशक्त र जनमुखी बनाउने।
पदभन्दा बढी जिम्मेवारी: यो उम्मेदवारी केवल पदका लागि नभई आर्थिक समुन्नतिको स्पष्ट योजनासहित देशको विकासको नेतृत्व कांग्रेसले गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमा पुष्टि गर्नका लागि हो।
राजनीति र अर्थतन्त्रलाई अलग-अलग क्षेत्रका रूपमा नभई राष्ट्रिय विकास यात्राका परिपूरकका रूपमा बुझ्नुपर्नेमा जोड दिँदै नेता चौधरीले १५औँ महाधिवेशन प्रतिनिधिहरूबाट आफ्नो पक्षमा अमूल्य सहयोग, सुझाव र मतदानको अपेक्षा गर्नुभएको छ।







